
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–७ पोख्रेल गाउँको घुम्तीमा यात्रुवहाक अटो दुर्घटना भएको छ । सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको ग.प्र. ०४–००१ ह २०४ नम्बरको यात्रुवहाक अटो आज दिउँसो दुर्घटना हुँदा सात जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुन्दरबजार नगरपालिका–६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस–नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन ‘रिफर’ गरिएको ईलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ ।
अस्पतालमा उपचारका लागि आएका चारजना घाइतेमध्ये एकजनालाई ‘रिफर’ गरिएको र बाँकी तीन जनाको ‘डिस्चार्ज’ भइसकेको एचडिसियस–नमुना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले जानकरी दिनुभयो ।
अटोले क्षमता भन्दा बढी यात्रु बोकेको र सो समयमा पानी परिरहेका कारण घुम्तीमा पुग्दा चालकको नियन्त्रण गुमेर सडकबाट छेउतिर लडेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक र अटो दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस