
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका-८ भोटेओडार नौबिसे निवासी फुटबल खेलाडी राजन मालुवा (पेले) को उपचारका लागि बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ । पेलेको उपचारका लागि बेलायातमा संकलन भएको झण्डै दुई लाख रुपैयाँ शनिबार हस्तान्तरण गरिएको हो ।
राजशान्ति फाउण्डेशनका संस्थापक राजशान्ति सुनार (राजु सुनार), बुद्ध यूथ क्लव भोटेओडारका पूर्व खेलाडी तथा टिम क्याप्टेन सानु गुरुङ, वुद्ध युथ क्लवका सक्रिय सदस्य प्रितम गुरुङ लगायतको सक्रियतामा पेलेको उपचारका लागि बेलायतमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
बेलायतमा संकलन भएको एक लाख ९७ हजार १ सय १५ रुपैयाँ रकम बुद्ध युथ क्लवका पदाधिकारी,राजशान्ति फाउण्डेशनका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितिमा पेलेको परिवारलाई हस्तान्तरण गरिएको छ ।
बुद्ध युथ क्लवका अध्यक्ष जिवनचन्द्र गुरुङ, टिम क्याप्टेन योगबहादुर गुरुङ (कालु), राजशान्ति फाउण्डेशनका सचिव समिप विक, भोटेओडार यूथ सोसाइटिका अध्यक्ष सुरेन्द्र थापा, सञ्चारकर्मी अनुज अधिकारी लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
बेलायतमा ‘राजन मालुवा बचाउ अभियान’ सञ्चालन गरेर आर्थिक सहयोग संकलन गरिएको राजशान्ती फाउण्डेशनका संस्थापन राजकुमार सुनार (राजु) ले बताउनुभयो । उक्त अभियानमा भोटेओडार घर भइ बेलायत बस्दै आउनुभएका तथा क्लवका पूर्व खेलाडी, पूर्व सदस्यहरुले स्वत स्फुर्त रुपमा सहयोग गरेको क्लवका पूर्व टिम क्याप्टेन सानु गुरुङले बताउनुभयो ।
क्यान्सर पीडित मालुवाले जिल्लाकै उत्कृष्ट र सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटवल प्रतियोगितामा थुप्रै पटक आफ्नो खेल प्रतिभा प्रस्तुत गरिसक्नुभएको छ ।
लमजुङको प्रतिनिधित्व गर्दै बाहिरी जिल्ला र लमजुङको हरेक कुना कुनामा पूगेरे आफ्नो खेल प्रतिभा प्रस्तुत गरेको खेलाडी आज आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आएपछि यतिबेला देश विदेशबाट सहयोग संकलन भइरहेको छ । बुद्ध यूथ क्लवले यसअघि पनि उहाँको उपचारका लागि एक लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।
बुद्ध यूथ क्लव भोटेओडारका पूर्व खेलाडी २६ वर्षिय राजन मालुवा (पेले) अहिले काठमाडौँमा उपचाररत हुनुहुन्छ । भारतको फोरटिस मेमोरीयल रिसर्च इन्ष्टिच्युट हयिरानामा बोनम्यारो प्रत्यारोपण पश्चात अहिले उहाँ काठमान्डौमा चिकित्सको निगरानीमा उपचार गराइरहनुभएको छ ।
बोनम्यारो प्रत्योरोपण पश्चात उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको आमा ज्ञानी मालुवाले बताउनुभयो । मालुवाको उपचारमा हालसम्म ८० लाख खर्च भइसकेको उहाँको दाजु धुव्र मालुवाले बताउनुभयो । मालुवाको उपचारका लागि हाल सम्म ३२ लाख रुपैयाँ सहयोग संकलन भएको छ । सहयोग आउने क्रम अझै जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस