२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

सुन्दरबजारमा शिवपुराण वोलबम महोत्सव हुँदै : अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्नुहुने

  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित ऐतिहासिक बरेटार शिवमन्दिरमा शिवपुराण वोलबम महोत्सव र सवा लाख बत्ति प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ । यही २०८२ साल श्रावण ९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

    आयोजक शिवजी गुठी संरक्षण संवद्र्धन समितिले सोमबार सुन्दरबजार नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरी यसबारे जानकारी दिएको हो ।

    धार्मिक आस्था, संस्कृति संरक्षण तथा धार्मिक पर्यटकीय सम्भावनाको प्रवद्र्धन गर्ने उद्देश्यसहित शिवपुराण वोलबम महोत्सव संचालन गर्न लागिएको शिवजी गुठी संरक्षण संवद्र्धन समितिका अध्यक्ष आनन्दलाल श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले गर्ने तय गरिएको आयोजकले जनाएको छ । यसै दिन शिवमन्दिर परिसरमा गणेश र शिवको मूर्ति स्थापनासमेत गरिने कार्यक्रम रहेको छ ।

    धार्मिक, सामाजिक तथा पर्यटकीय महत्व बोकेको बरेटार शिवमन्दिर परिसरको पुनःसंरचना, शिवबुद्ध पार्क निर्माण, क्रियापुत्री स्थलको विकास तथा अक्षयकोष स्थापना गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको समितिका सचिव सुरेन्द्र पौडेलले बताउनुभयो ।

    समिति अध्यक्ष आनन्दलाल श्रेष्ठको नेतृत्वमा १०० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न ६ वटा उप–समितिहरू समेत बनाइएको छ । सह–संयोजकमा सुरेन्द्र घिमिरे र गोबिन्द गुरुङ रहनुभएको छ ।

    कार्यक्रमको पहिलो दिन श्रावण ९ गते बिहान ८ः३० बजे कलश यात्रा निकालिनेछ । त्यही दिन बिहान ११ः३० बजे शिवपुराण कथा तथा वोलबम महोत्सवको औपचारिक समुद्घाटन हुनेछ ।

    कार्यक्रमको संरक्षकमा सुन्दरबजार नगरपालिका रहेको छ । सह–संरक्षकमा नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरू रहेका छन् । सह–आयोजकमा महायज्ञ मूल आयोजक समिति, सम्पूर्ण भजन मण्डली, आमा समूह तथा टोल सुधार समितिहरू रहेका छन् ।

    शान्ति, सद्भाव र धर्मको प्रवाहका लागि आयोजना हुन लागेको यो धार्मिक समारोहले स्थानीय स्तरमै होइन, प्रदेश तथा राष्ट्रस्तरमै बरेटार शिवमन्दिरको महत्वलाई उजागर गर्ने विश्वास आयोजक समितिले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑