२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङ राईनासका १६ भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण

  • २०८२ श्रावण १, बिहिबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–भूमि समस्या समाधान आयोग, जिल्ला समिति, लमजुङले राईनास नगरपालिका–६ धमिलिकुवामा रहेका १६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

    (बुधबार) आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा लालपुर्जा वितरण गरिएको हो ।

    राईनास नगरपालिका वडा नं. ६ (साविक धमिलिकुवा–३ नयाँपौवा) र (धमिलिकुवा–८ स्याउली)मा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई सार्वजनिक पर्ति जग्गाबाट लालपुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो ।

    पहिलो चरणमा १६ जनालाई क्रमश : १९१.०४ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा व्यवसायिक र आवासीय प्रयोजनका लागि उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

    लालपुर्जा वितरण गर्दै आर्थिक मामिला मन्त्री डा. गुरुङले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु राज्यको उत्तरदायित्व भएको उल्लेख गर्दै आगामी दिनमा बाँकी भूमिहिनहरुलाई समेत न्याय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।

    आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले भूमिहीनलाई जग्गा वितरण गर्नु सामाजिक न्यायतर्फको महत्वपूर्ण पाइला भएको उल्लेख गर्नुभयो । आयोग लमजुङका अध्यक्ष अधिकारीका अनुसार वडाले प्रविष्ट गरेको विवरणको आयोगले छानविन गरी लालपुर्जा वितरण गरेको हो ।

    भूमिहीन दलित र सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूको जीवनमा स्थायीत्व ल्याउन आजको दिन ऐतिहासिक रहेको नगर प्रमुख खड्ग बहादुर गुरुङले बताउनुभयो ।

    नापी अधिकृत विनोद श्रेष्ठले वितरण गरिएको जग्गा सार्वजनिक पर्ति जमिन भएको र यसलाई व्यवसायिक तथा आवासीय प्रयोजनका लागि कानुनी आधारमा प्रमाणिकरण गरिएको जानकारी गराउनुभयो ।

    राईनास नगरपालिका वडा नं. ६ का अध्यक्ष गोविन्द चिलुवालका अनुसार वडामा कूल ७२ जना भूमिहीन दलित तथा सुकुम्बासी प्रमाणित भएका छन् । बाँकी ५६ जनामध्ये हालसम्म ३३ जनाको कित्ताकाट प्रक्रिया सकिएको र अन्यका लागि जमिन पहिचान तथा नापजाँचको काम भइरहेकाले चाँडै बाँकी सबैलाई पनि लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस