२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको सांगीतिक सहकार्य यतिबेला चर्चामा

  • २०८२ अषाढ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको सांगीतिक सहकार्य यतिबेला चर्चामा छ । यी तीनलाई समेटेर तयार भएको गीत बुधबार युट्युबमा सार्वजनिक हुने तयारीमा छ ।

    सामाजिक संजालमा चर्चामा रहेका यी तीनजनाको सहकार्य धेरैका लागि आश्चर्य पनि हो । टिकटक र रिल्समा लामो समयदेखि ट्रोल हुँदै आएकी गुराँस नानीले अहिलेका चर्चित पर्फमर तथा संगीतकर्मी दुर्गेश र भ्लगर सिसनसँग सहकार्य गरेको खबर अहिले चर्चामा छ ।

    दुर्गेश र नवाज अन्सारीको पछिल्लो सुपरहिट ‘बबाल’पछि सिसनबीच भएको यो सहकार्यलाई महत्वको साथ लिइएको छ । यस्तोमा, सेलिब्रेटी बन्न संघर्ष गरिरहेकी गुराँस नानीलाई दुर्गेश र सिसनले मोडलमा छनोट गर्नु धेरैका लागि रोचक कुरा हो ।

    गुराँस नानीसँगको सहकार्यबारे अनलाइनखबरले दुर्गेशसँग जिज्ञासा राखेको थियो । जवाफमा उहाँले गुराँस नानी अन्य भाइरल व्यक्तिहरू भिन्ने रहेको बताउनुभयो । ‘उहाँ रिजर्भ बस्ने भाइरल व्यक्ति हो । उहाँको सेलिब्रेटी बन्ने सपनालाई सघाउन हामीले सहकार्य गरेका हौं । हामीले सहयोग गर्ने हो, भोलि संघर्ष उहाँ आफैले गर्नुपर्छ’ दुर्गेशले भन्नुभयो ।

    गुराँस नानीलाई उक्त म्युजिक भिडियोमा अभिनय गरेबापत ५० हजार रुपैयाँ पारिश्रमिक आफूहरूले दिएको र त्यो रकमले उहाँले गाउँमा धेरथोर केही उद्यमशिलता गर्न सक्ने दुर्गेशले बताउनुभयो ।

    ‘गाउँको लागि ५० हजार रुपैयाँ धेरै ठूलो कुरा हो । यो पैसाले उहाँले गाउँमा पनि केही काम गर्न सक्नुहुन्छ’ दुर्गेशले भन्नुभयो । जेहोस्, गुराँस नानीसँग दुर्गेश र सिसनको सहकार्य अहिले टाइमलाइनमा चर्चाको विषय बनेको छ । फ्यान बुधबार सार्वजनिक हुने यो सहकार्य संगीतलाई हेर्न अधैर्य छन् ।

    प्रतिक्रिया दिनुहोस