
लमजुङ-लमजुङका विभिन्न स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/०८३ का लागि आ–आफनो बजेट सार्वजनिक गरेका छन् । लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेका छन् । तीमध्ये सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाको बजेट यस्तो छ।
सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०८२/0८३ का लागि कुल ६१ करोड ४८ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उप–प्रमुख भवानी केसीले नगरसभाको १६ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै वर्तमान आवश्यकता, स्थानीय माग र दिगो विकासको अवधारणा अनुरूप बजेट तयार गरिएको बताउनुभयो ।

प्रस्तुत बजेटमा ७७.६८ प्रतिशत अर्थात् ४७ करोड ५३ लाख १३ हजार चालू खर्चका लागि र २२.३२ प्रतिशत अर्थात् १३ करोड ६५ लाख ८१ हजार रुपैयाँ पूँजीगत खर्चका लागि छुट्याइएको छ । सामाजिक सेवा क्षेत्रमा सबैभन्दा ठूलो बजेट विनियोजन गरिएको जनाइएको छ ।
बजेट कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान तथा आन्तरिक स्रोतहरू प्रयोग गरिनेछ । संघीय सरकारबाट झन्डै ५३ करोड र प्रदेश सरकारबाट ३ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक आम्दानीबाट २ करोड ५ लाख र बैंक मौज्दातबाट २ करोड २५ लाख रुपैयाँ स्रोत परिचालन गरिनेछ ।
कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ६४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । बाझो जमिन उपयोग, सिँचाइ, कृषि एम्बुलेन्स, मौरी र च्याउपालन, बाख्रापालन, बीउ वितरण, पशु स्वास्थ्य सेवा तथा युवालाई स्वरोजगारमा जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ।
सामाजिक विकास क्षेत्रमा ३६ करोड विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा ७ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । पूर्वाधार विकासका लागि ९ करोड ५९ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापन र वातावरण संरक्षणमा १ करोड ४६ लाख छुट्याइएको छ भने सशासन तथा संस्थागत विकासका लागि १३ करोड ६७ लाख विनियोजन गरिएको छ ।
यसैगरी, बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०८२/0८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशन तथा बजेट अधिवेशनको उद्घाटन सत्रमा नगर उपप्रमुख पद्मा गुरुङले नीति, कार्यक्रमसहितको बजेट प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख गुरुङका अनुसार बजेटमध्ये चालू तर्फ ४७ करोड ८१ लाख रुपैयाँ (६३.३४%) र पूँजीगत तर्फ २७ करोड ६७ लाख २० हजार रुपैयाँ (३६.६६%) विनियोजन गरिएको छ ।
आगामी वर्षका लागि पनि कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, पर्यटन, स्वरोजगार, महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइनेछ । नगर प्रमुख गुमानसिंह अर्यालले सभालाई सम्बोधन गर्दै आवश्यकता र प्राथमिकताको आधारमा बिना पक्षपात योजना र बजेट तयार गरिएको बताउनुभयो ।
यस्तै, दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८२/0८३ का लागि ५७ करोड ६० लाख १६ हजार ७ सय २८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष बिच्छबहादुर घलेले बजेटसहितको कार्यक्रम पेश गर्नुभएको हो ।

सभामा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष घलेले बजेट सार्वजनिक गर्नुभएको थियो ।
बजेटमा सामाजिक सेवा, प्रशासन, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, राहत तथा उद्धार लगायतका शीर्षकमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।
प्रस्तावित बजेटमा सशर्त अनुदान चालुतर्फ २५ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सशर्त अनुदान पुँजीगततर्फ ७६ लाख, विशेष अनुदान चालु ५४ लाख, समपूरक अनुदान पुँजीगततर्फ १ करोड ५ लाख, प्रदेश विशेष अनुदान ४० लाख र प्रदेश समपूरक अनुदान ६० लाख छुट्याइएको छ ।
राहत तथा उद्धार कोषमा १५ लाख, प्रकोप व्यवस्थापन कोषमा १९ लाख, समपूरक कोषमा २ करोड ७० लाख, तथा कार्यालय सञ्चालन तथा प्रशासन व्यवस्थापनतर्फ ७ करोड २० लाख ८० हजार रुपैयाँको बजेट छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस