
लमजुङ-चारैतिर ठुला ठुला ढुङ्गा, कतै ओडार त कतै गुफा देखिन्छन् । ढुङ्गाको बिचबाटै सुरुङमार्ग खनिएको छ । काला रङका ढुङ्गाले ढपक्कै ढाकिएको छ खानीगाउँ । ढुङ्गाका यी ओडार धेरै पहिला गाउँलेको शौच गर्ने थलो थियो । गजधम्मका ढुङ्गा देखेर गाउँले डराउँथे त कहिले निराश पनि बन्थे ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुको खानीगाउँमा रहेका यी ढुङ्गाका बगैँचा अचेल भने पर्यटक भुलाउने थलो बनेका छन् । यही काला ढुङ्गाले पर्यटक आकर्षण गरिरहेको छ । अन्नपूर्ण पदमार्गमा पर्ने यस ठाउँलाई गाउँलेले चट्टानको बगैँचा नामकरण गरेका छन् ।
चट्टानको बगैँचाले आन्तरिक तथा बाह्य पर्यटकको मन खिच्न थालेको पर्यटन समितिका अध्यक्ष कामसार्की गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक रक गार्डेनको सुन्दरता देखेर दङ्ग पर्ने गरेका छन् । ‘रक गार्डेन’ ढुङ्गाको पहरैपहराले बनेको छ । ‘रक गार्डेन’ पूरै चहार्न आधा घण्टाभन्दा बढी समय लाग्छ । गुरुङले भन्नुभयो, ‘चट्टानको बगैँचा पर्यटकीय मात्र होइन, ऐतिहासिक रूपमा पनि उत्तिकै महत्व छ । परापूर्वकालमा हाम्रा पुर्खा कसरी ओडारमा बस्थे भन्ने कुरा यहाँ आएर सिक्न र हेर्न सकिन्छ ।’
एउटा पहरोबाट अर्को पहरोमा पुग्न साँघु बनाइएको छ । पहराभित्रको सुरुङ हुँदै पनि अर्कै ठाउँ जाने बाटो छ । गार्डेनको बिचमा बस्ने ठाउँ निर्माण भएको छ । यहाँ पिकनिक स्थल र अन्य खेल्ने र हेर्ने पूर्वाधार बनाइएको स्थानीय पर्यटन व्यवसायी किर्ख गुरुङले बताउनुभयो । चट्टानको बगैँचा ‘रक स्टे’ को अवधारणा पनि छ ।
चट्टानको बगैँचा हेर्न आउने पर्यटक चट्टानमै बास बस्छन् । ‘रक गार्डेन’ स्थलमा फूलबारी, बिजुली सुविधा, गार्डेन स्थलमा बस्ने ठाउँ, ओडार छिर्ने सुरुङमार्ग, पिकनिक स्थल, पोखरी, ढुङ्गेधारा, वासस्थान निर्माण गरिएको छ ।
चट्टानको बगैँचासँगै होमस्टे र रक स्टेको अवधारणा पनि अघि बढाइएको छ । ५८० मिटरको रुट सर्किटमा प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट निकै मनमोहक छ । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैँचाले आकर्षित गरेको छ । दैनिक पर्यटक चट्टानको बगैँचामा घुम्न आउने होमस्टे सञ्चालिका सीता गुरुङले जानकारी दिनुभयो ।
लमजुङ सदरमुकाम बेँसीसहरबाट २२ किलोमिटर सडक बाटो ताघ्रिङको रामबजार हुँदै पैदलबाट १५ मिनेटको दुरीमा ‘रक गार्डेन’ पुग्न सकिन्छ । यो ठाउँलाई पालिकाको पर्यटकीय गन्तव्य बनाउन आफूहरू लागिपरेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । –नवीनराज कुइँकेल
प्रतिक्रिया दिनुहोस