२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

लमजुङको बाहुनडाँडा : स्थानीयले बनाए देवी मन्दिर, अर्थमन्त्री डा. गुरुङद्धारा मन्दिर समुद्घाटन

  • २०८२ बैशाख ७, आईतबार मा प्रकाशित १ साल अघि
  • लमजुङ–लमजुङको बाहुनडाँडाका बासिन्दाले सहयोग उठाएर भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा रहेको देवीको मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो। मन्दिर पुनर्निर्माण गर्न स्थानीय बासिन्दाले देश, विदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपैयाँ संकलन गरेका थिए ।

    यो मन्दिर सोह्रौं शताब्दीमै निर्माण भएको अनुमान गरिएको छ । वि.सं. १५१० मा तत्कालीन पुस्तुन बाहुनडाँडामा जन्मिएका कुश्माखर घिमिरेले मन्दिरको निर्माण गरेको मानिन्छ । यस मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषी तथा योगीहरूले तपस्या गरेको इतिहास पनि भेटिएको स्थानीय जानकारहरु बताउँछन् ।

    यो मन्दिरमा पुगेर भाकल गर्नेको मनले ताकेका कुरा पुरा हुने विश्वास रहँदै आएको देवीथान संरक्षण समितिका अध्यक्ष मनिप्रसाद गुरुङले जानकारी दिनुभयो ।
    गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा लमजुङ काङग्रेसका सभापति डा. टकराज गुरुङले नवनिर्मित देवी मन्दिरको उद्घाटन गर्नुभएको हो ।
    इतिहासको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

    ‘पुस्तुन बाहुनडाँडा नेपालको राष्ट्रिय झण्डाका डिजाइनरको गाउँ हो भन्ने कुरा कमैलाई थाहा छ । यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको पनि गाउँ हो। उहाँहरूजस्ता महापुरूषको सम्मानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ,’ मन्त्री गुरुङले भन्नुभयो । उहाँका अनुुसार ऐतिहासिक विषयलाई पर्यटनसँग जोडेर यस क्षेत्रको आर्थिक विकास गर्न सकिने संभावना प्रशस्त छन् ।

    मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि आवश्यक पर्ने सहयोग गाउँपालिकाले गर्ने बताउनुभयो ।
    पुरानो देवीथान मन्दिरको २०४६ सालमा भारतीय सेनामा कार्यरत स्थानीय खुसबहादुर गुरुङले जीर्णोद्वार गर्नुभएको थियो ।

    २०७२ सालको भूकम्पले भत्काएपछि २०८० सालमा स्थानीय मनिप्रसाद गुरूङको अध्यक्षतामा देवीथान संरक्षण समिति बनाएर आर्थिक संकलन सुरू गरिएको थियो । अध्यक्ष गुरुङले देवीथान मन्दिरमा आस्था राख्ने देश, विदेशमा रहेका नेपालीको सहयोगमा मन्दिरको मुहार फेरिएको बताउनुभयो । मन्दिर निर्माणमा अहिलेसम्म ६० लाख बढी खर्च भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑