२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

सुन्दरबजार अस्पताल : भौतिक संरचना निर्माणका लागि जग्गा उपयोग स्वीकृत

  • २०८१ चैत्र २०, बुधबार मा प्रकाशित १ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–७, तार्कुटारस्थित नेपाल सरकारको नाममा दर्ता रहेको १५–१–१–० क्षेत्रफल जग्गा सुन्दरबजार अस्पतालको भवन तथा भौतिक संरचना निर्माणका लागि उपयोग गर्न स्वीकृति प्राप्त भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ चैत १८ गतेको निर्णयअनुसार नगरपालिकाले सो जग्गा अस्पतालको विकासका लागि प्रयोग गर्न सक्ने भएको हो ।

    सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोईराला, सुन्दरबजार नगरपालिका वडा नं ७ का वडाअध्यक्ष जयराम रेग्मी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायत सरोकारवाला पक्षकोे पहलमा यो महत्वपूर्ण उपलब्धी हासिल भएको हो ।

    यो संगै सुन्दरबजारका नागरिकहरूलाई सरल, सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आफुहरुले लिएको नगरप्रमुख कोईरालाले बताउनुभयो । नगरपालिकाले स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

    ‘यस अस्पताल भवन निर्माणको प्रक्रिया छिटो अघि बढाउन हामी प्रतिवद्ध छौँ । नागरिकलाई स्तरीय स्वास्थ्य सेवा दिन यस निर्णय ऐतिहासिक छ,’ उहाँले भन्नुभयो ।
    नगरपालिकाले अब अस्पतालको निर्माण प्रक्रियालाई तीव्रता दिने योजना बनाएको छ ।

    नगरप्रमुख कोईरालाका अनुसार भौतिक संरचना निर्माणका लागि आवश्यक स्रोत साधन जुटाउने कार्य समेत अघि बढाइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले अस्पतालमा स्वास्थ्य पूर्वाधार निर्माणका लागि सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस