२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण

  • २०८१ फागुन १२, सोमबार मा प्रकाशित १ साल अघि
  • अमेरिकाको एक कम्पनीले उड्ने कारको नमूना परीक्षण गरेको छ । क्यालिफोर्नियामा रहेको एलेफ एअरोनटिक्स कम्पनीले विश्वको पहिलो उड्ने कार तयार गरेर नमूना परीक्षण गरेको बीबीसीले जनाएको छ ।

    यो कारको प्रारम्भिक नमूनाले उडान गरेको दृश्य पनि सार्वजनिक भएको छ । यो कार आकाशमा उडिरहेको भिडियोमा देख्न सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिम डुखोभ्नीले आउँदो एक वर्षमा उपभोक्ताहरूलाई यस्तो कार बेच्ने लक्ष्य राखेको बताउनुभएको छ ।

    अहिलेसम्म यस्तो कारका लागि ३ हजारभन्दा धेरै माग आइसकेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उपभोक्ताले ३ लाख अमेरिकी डलरमा विद्युतीय उड्ने कार पाउनेछन् ।

    यो कारमा दुई जना मानिस बस्ने सुविधा हुनेछ । यसको उडान क्षमता एक सय १० माइलसम्म हुनेछ भने सडकमा २ सय माइलसम्म यात्रा गर्न सक्नेछ । यो कार अटोपाइलट मोडमा पनि उड्न सक्छ । यो कारमा आठ वटा रोटर छन् जसले कारलाई हावामा सजिलै उठाउन मद्दत गर्दछ ।

    कार सडकमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सक्ने र आवश्यक पर्दा तुरुन्तै उड्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस