
लमजुङ(सुन्दरबजार)–गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता तथा नेपाली काँग्रेस लमजुङका सभापति डाक्टर टकराज गुरुङले राजनीति मुलुक निर्माण गर्ने विज्ञान रहेको बताउनुभएको छ। लमजुङको सुन्दरबजार नगरपालिका–६, बरेटारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘अहिले विद्यार्थीहरुमा ‘राजनीति फोहोरी खेल’ भन्ने छाप पारिएको छ । राजनीति देशको शासन सुव्यवस्था संचालन गर्ने नीति हो । मुलुक निर्माण गर्ने विज्ञान हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले ‘राजनीति फोहोरी खेल’ भन्ने भ्रम विद्यार्थीहरुमा हटाउन सकेमा त्यसले विद्यार्थीहरुमा निराशाको भावना आउँदैन ।’
यस्तै, उहाँले शैक्षिक क्रियाकलापमा विद्यार्थीहरुलाई देशभक्ति र देशको सेवा गर्नुपर्ने भावना जागृत गराउनुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले युवाहरु विदेश पलायन हुने क्रम बढेको छ । यसलाई रोक्न देशभित्र रहेका सम्भावनाहरुको खोजी गर्नुपर्छ ।’ साथै, उहाँले मुलुकमा आवश्यक जनशक्ति उत्पादनतर्फ राज्यको शिक्षा प्रणाली र शैक्षिक संघसंस्था लाग्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि सुन्दरबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले विद्यालय १२ कक्षासम्म सञ्चालन भएको अवस्थामा विद्यालय शिक्षाको माथिल्लो कक्षा नहुने भन्दै यसलाई गुणस्तरीय बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम तामाङको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका अर्जुन परियार, नेकपा एमालेका द्वारिकाप्रसाद मिश्र, नेकपा माओवादीका मुरारी भुजेल, रास्वपाका श्याम केसी, सुन्दरबजार नगरपालिका ६ का वडाध्यक्ष दिनेश बाबु कोइराला, सुन्दरबजार नगरपालिका ७ का वडाध्यक्ष जयराम रेग्मी, शान्ति माविका प्रधानाध्यापक उत्तम बसेल, नेपाल शिक्षक संघका अध्यक्ष सूर्यबहादुर केसी, शिक्षक संगठनका हरिकृष्ण कोइराला, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष परमेश्वर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
कार्यक्रममा प्रधानाध्यापक नवराज केसीले वार्षिक प्रतिवेदन र लेखापाल चित्रबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले ठूलो संख्यामा उत्कृष्ट शिक्षकहरु, अभिभावक, आजीवन सदस्य र अक्षयकोषदातालाई सम्मान गरेको थियो । सो अवसरमा विद्यार्थीहरुले नृत्य र गायक प्रशान्त तामाङले आफ्नो सांगीतिक प्रस्तुती राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस