
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ दुराडाँडा अर्चल्यानीमा रहेको हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानलाई ८ रोपनी जग्गा प्राप्त भएको छ । २००६ सालमा ब्राम्हणहरुले हलो जोत्न हुँदैन भन्ने अवस्थामा हलो जोतेर सामाजिक र साँस्कृतिक क्रान्ति गर्नुभएका पण्डित तोयनाथ अधिकारीका माइला छोरा सोमकान्त शर्माले जग्गा किनिदिएपछि प्रतिष्ठानलाई सो जग्गा प्राप्त भएको हो ।
पछिल्लो समय सोही ठाउँ निवासी मुक्तिनाथ पौडेलको नाउँमा रहेको जग्गा शर्माले हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको नाउँमा रजिष्ट्रेशन पास गर्ने व्यवस्था मिलाउनुभएको हो । प्रतिष्ठानले आवश्यक जग्गाको अभावमा हलोक्रान्ति तथा तोयनाथ स्मृति पार्क र आवश्यक संरचना निर्माण गर्न नसकेको बताउदै आएको थियो । जग्गा प्राप्त भएपछि पार्क निर्माण गर्ने, पार्कभित्र २००६ सालमा पण्डित तोयनाथ अधिकारीले हलो जोतेर क्रान्ति गरेको देखाउन सांकेतिक रुपमा हलो जोत्दै गरेको हल गोरु सहितको पूर्ण कदको शालिक निर्माण गर्ने लगायतका योजना प्रतिष्ठानसंग छ ।
प्रतिष्ठानका अध्यक्ष डा. लक्ष्मीकान्त पौडेलका अनुसार सुन्दरबजार नगरपालिका वडा नं. ४, अर्चल्यानीस्थित हलो जोतिएको बाटेगरा र सो सँगै जोडिएको ८(२(३(१ क्षेत्रफल भएको उक्त जग्गा प्रतिष्ठानको नाममा रजिष्ट्रेशन पास भएको छ । प्रतिष्ठानले जग्गा रजिष्ट्रेशन गर्न सहयोग पुर्याउने मुक्तिनाथ पौडेल, छोरा रामजी पौडेललाई समेत धन्यबाद ज्ञापन गरेको छ । उनीहरुले जग्गा रजिष्ट्रेशनको क्रममा आफ्नो स्वर्गीय श्रीमती बाल कुमारी र स्वर्गीय छोरा शिवजी पौडेलको स्मृतिमा नगद पाँच हजार रुपैयाँ समेत सहयोग गरेका थिए ।
प्रतिष्ठानका सचिव लक्ष्मीकान्त न्यौपानेका अनुसार हलोक्रान्ती स्थललाई पर्यटकीय स्थल, अध्ययन स्थल र आन्तरिक र बाह्य पर्यटकका साथै देशभरका विद्यार्थीहरुको लागि अनुगमन स्थल बनाउने गरी प्रतिष्ठानले योजना बनाएको छ ।
देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ साल साउन ११ गतेका दिन सो स्थानमा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनहरुले नेपालमै पहिलो पटक हलो जोतेर हलो क्रान्तिको शुरुवात गरेका थिए ।
प्रतिष्ठानले बाटेगरामा हलोक्रान्तिका योद्धाहरूको नाम रहेको स्मारक यस अघिनै निर्माण गरिसकेको छ । हलोक्रान्ति स्मृति भवन निर्माण गरेको छ । त्यस्तै प्रतिष्ठानले पण्डित तोयनाथले हलो जोत्दै गरेको हल गोरु सहितको शालिक निर्माण गर्नको लागि फाउण्डेशन समेत तयार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस