
जनक श्रेष्ठ/रासस
लमजुङ-विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्य रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका-३ मा पर्दछ ।
ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब बर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताउनुभयो ।
यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उनको भनाइ छ । ‘घरवास सञ्चालक हेमकुमारी गुरुङले भन्नुभयो, ‘बर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब बर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौं ।’
पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन् । गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन् ।
स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् । पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले भन्नुभयो
पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उनको भनाइ छ । घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उहाँले बताउनुभयो । उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरवास (होमस्टे)मा यतिबेला ४४ घरमा घरवास (होमस्टे) सञ्चालनमा छन् । एक रातमा तीन सय जना बास बस्ने क्षमता छ ।
साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् । होमस्टेमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् ।
विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ । नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो । यस गाउँमा करिब १३५ घरधुरी छन् ।
यहाँबाट आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार ८३५ मिटरमा रहेको ङादीचुली (डा हर्क हिमाल), सात हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), छ हजार ९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, सात हजार ८९३ मिटर उचाइको हिमालचुली, छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार ६७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।
यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको एक हजार २५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ ।
साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । घलेगाउँ काठमाडौंंबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेंसीसहरसम्म ११० किमीको दूरीमा रहेको छ । बेंसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस