२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

अर्थमन्त्री डा. गुरुङद्धारा लमजुङ रेडक्रस भवनको शिलान्यास : भवन निर्माणमा सघाउने प्रतिवद्धता

  • २०८१ भाद्र २३, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लमजुङको आफ्नै भवन निर्माण हुने भएको छ । नव निर्माण हुन लागेको भवनको शुक्रबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं लमजुङ कांग्रेसका सभापति डा. टकराज गुरुङले शिलान्यास गर्नुभएको हो ।

    भवनको शिलान्यास गर्दै मन्त्री गुरुङले रेडक्रस विशुद्ध मानवीय सेवा र विपद प्रतिकार्यमा अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थाको रुपमा अग्रस्थानमा रहेको भन्दै प्रशंसा गर्नुभयो ।
    लमजुङ जिल्लाका हरेक विपत्तिको प्रतिकार्यमा रेडक्रस लमजुङको अग्र भुमिका रहेको उल्लेख गर्दै उहाँले शाखाको भवन निर्माणमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रभाकारी र गुणस्तरीय रुपमा भवन निर्माण गर्न उहाँले आग्रह गर्नुभएको छ ।

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लमजुङले बेसीशहर नगरपालिका–८ दनाईफाँट बसपार्क स्थित पाँच आना जग्गामा भवन निर्माण गर्न लागेको हो । २ करोड रुपैँयाको लागतमा निर्माण हुन लागेको चार तले भवनका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइ.एफ.आर.सी. लगाएत संघ, प्रदेश सरकार र रेडक्रसका जेष्ठ र आजिवन सदस्यहरुको सहयोग रहने रेडक्रस लमजुङ शाखाका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो ।

    रेडक्रस लमजुङका सभापति ऋषिराम घिमिरेका अनुसार रेडक्रस लमजुङ शाखाले अहिले बेसीशहर–८ हस्पिटल लाइन स्थित कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ । शाखाले जिल्लामा विपद् व्यवस्थापन, प्राथमिक उपचार, रक्तदान सेवा, एम्वुलेन्स सेवा सहित विपन्न नागरिकहरुको बीचमा समावेशी उत्थानशिल एवं सशक्तिकरण लगायतका विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑