
-राजु परियार-
लोकले बनाइदिएको एउटा मर्यादा छ, त्यो मर्यादाभित्र बसेर लोकगीत सिर्जना हुनुपर्छ र गाउने मान्छेले पनि आफैँलाई सेन्सर गरेर गाउनुपर्छ ।
हाम्रोमा दोहोरी गाउने आफ्नै शैली छ । हामीले गाउँको लोक शैलीलाई भुल्नुहुन्न । स्रष्टाले आफ्नो शैलीलाई ध्यान दिनुपर्छ । अहिले युट्युबको भ्युजका लागि दोहोरी गाउन थालिएको छ । चलिहाल्छ नि भन्ने मानसिकताबाट दोहोरी गाइन्छ । तर, यो मानसिकताबाट मुक्त हुनुपर्छ । हाम्रो लोककला र लोकसंस्कृति बोक्ने लोकदोहोरीलाई पैसासँग दाँजेर हेर्नुहुँदैन । हाम्रो लोककला पैसाभन्दा धेरैमाथि छ । पैसा र लोकसंगीतलाई कहिल्यै पनि तुलना गर्न मिल्दैन । अहिलेका नयाँ पुस्ताका गायक–गायिकाले यो कुरालाई बुझ्न जरुरी छ ।
लोकदोहोरीमा द्विअर्थी शब्द आयो भन्ने जनगुनासो सुन्न थालिएको छ । यसबारे हामी कलाकार सचेत हुनुपर्छ । दोहोरी गीत सिर्जना गर्ने वेला श्रष्टा आफैँलै सेन्सर गर्नुपर्छ । लोकदोहोरी अनुशासनमा बाँधिएर गाउनुपर्छ । म आफैँ पनि गाउँने वेला सचेत भइरहेको हुन्छ । म अरूसँग दोहोरी गाउँदै छु भने सजग हुन्छु । आफूसँग गाइरहेका साथीलाई पनि सेन्सर गराउँनतिर लैजान्छु । किनकि दोहोरी केटा र केटी मात्रै बसेर गाइँदैन । आमा–छोरा, बुबा–छोरा बसेर पनि दोहोरी गाइन्छ । साथीभाइसँग बसेर पनि दोहोरी गाउन सकिन्छ ।
अहिले दोहोरी गाएर कलाकार बाँच्ने अवस्था बनेको छ । धेरैजनामाझ चिनिने अवसर पनि छ । तर, हाम्रो मौलिक लोककला बजारमा टकराउँदा लोकगीतमा अश्लीलता मिसिएका छन् । यस्तो हुनुमा बजारलाई दोष दिएर मात्रै हुँदैन, दोहोरी गाउने कलाकार पनि उत्तिकै जिम्मेवार छन् ।
दोहोरी गाउन कथा चाहिन्छ । कथा विनाको दोहारी गाउन सकिँदैन । दोहोरी जहाँबाट सुरु ग¥यो त्यही पुगेर बिट मार्नुपर्छ । बल्ल त्यसलाई ठेट दोहोरी मान्न सकिन्छ । अहिले युट्युबमा सुरुवात कहाँबाट भयो, अन्त्य कहाँ गएर हुन्छ थाहा हुँदैन । अहिले दोहोरी गीतमा बिट मारेको पाइँदैन । अग्रज पुस्ताले सात दिन सात रातसम्म दोहोरी गाएको भन्ने सुनिन्थ्यो । तर, अहिले युट्युबका लागि ३० मिनेटमा दोहोरी गाइसकेर बिट मार्नुपर्छ । यति छोटो दोहोरी गीत कसरी टुंगिन्छ रु कथा बुनेर दोहोरी गाउनुपर्छ । दोहोरी जसले जसरी गाए पनि हुन्छ, तर मार्यादित भएर गाउनुपर्छ । लोकगीतको नियमभित्र बसेर सिर्जना गर्नुपर्छ ।
लोकसंगीत र बजारबीचको टकराव
अहिले दोहोरी गाएर कलाकार बाँच्ने अवस्था बनेको छ । धेरैजना माझ चिनिने अवसर पनि छ । तर, हाम्रो मौलिक लोककला बजारका टकराउँदा लोकगीतमा अश्लीलता मिसिएका छन् । यस्तो हुनुमा बजारलाई दोष दिएर मात्रै हुँदैन, दोहोरी गाउने कलाकारको पनि उत्तिकै दोष छ ।
गाउने मान्छे कुन समाजमा जन्मियो, हुर्कियो भन्ने कुराले पनि अर्थ राख्छ । मान्छेले आफू हुर्केको समाज बिर्सिनु हुँदैन । आफ्नो जरा बिर्सनु हुँदैन । धन, मन र सिर्जना फरक कुरा हुन् । मान्छेको जीवन जसरी पनि चलिरहेको हुन्छ । तर, जीवन चलाउनकै लागि जथाभावी गर्नुहुँदैन । जसरी खोलामा विष हालेर माछा मार्नुहुँदैन, त्यसरी नै लोकदोहोरी गाउँदा समाजको मर्यादा भुल्नुहुँदैन । लोकदोहोरीमा अश्लीलता कम गर्न सम्बन्धित संघ–संस्थाले भूमिका नखेलेको भन्ने हुँदै होइन, तर पर्याप्त भएको देखिन्न ।
सहर पसेको लोकगीत
हिजो चौतारी, पानीपँधेरो, रोधी, सत्यनारायणको पूजा, एकादेशमा गीत गाउँदै आएँ । गोठालो जाँदा पनि हातमा मुरली हुन्थ्यो । अर्को हातमा लौरी हुन्थ्यो । चिलाउँनेको पात बजाउँदै गीत गाइयो । मेरो हिजो लोक गीतसँगको नाता यसरी गाँसियो । लोकगीतले लोकजीवनसँग निकट बनाउँछ । लोकगीतलाई जीवनकै एउटा अंगको रूपमा लिन सकिन्छ । यो हाम्रो संस्कार, संस्कृति र सभ्यतासँग जोडिएको छ । तर, लोकसंगीत सहर पसेपछि केही विकृत बन्न पुगेको देखिन्छ, जुन नराम्रो हो ।
अग्रज पुस्ताले सात दिन सात रातसम्म दोहोरी गाएको भन्ने सुनिन्थ्यो । तर, अहिले युट्युबका लागि ३० मिनेटमा दोहोरी गाइसकेर बिट मार्नुपर्छ । यति छिट्टै दोहोरी गीत कसरी टुंगिन्छ ?
हिजोका गाउँका चौतारी र पानीकुवा भेटिँदैनन् । चौतारीमा वपरपिपलको हावा पाइँदैन । चौतारी हाम्रो सिर्जना गर्ने थलो थियो, पुर्खाको चिनो थियो । यी सबै सम्पत्ति अहिले मासिँदै छ । हुन त गाउँलाई हराभरा नबनाएसम्म सहर बन्दैन । जब गाउँका काफल, ऐँसेलु पाक्न छोड्छ हाम्रो अस्तित्व रहँदैन, लोकसंस्कृतिको अस्तित्व रहँदैन । त्यसकारण गाउँलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ । हाम्रो जीवन दिने नै गाउँ हो । हामी गाउँबाट सहर पसेका हौँ । प्रकृतिले दिएको सुन्दर गाउँ हामीसँग छ । ती डाँडाकाँडा कसैले बनाइदिएको होइन । प्रत्येक गाउँमा रोधीघर भइदिए, प्रत्येक गाउँमा लोकसंस्कार जीवित भइदिए, हाम्रो गाउँ कति धनी हुन्थ्यो होला । त्यसैले सहरका लोकदोहोरी विकृत हुँदै गए भन्दा गाउँबाट हाम्रो लोक संस्कृति नासिँदै छ भन्नेतिर पनि हामीले ध्यान पु¥याउनुपर्छ भन्ने लाग्छ ।
अमर्यादित बन्दै तिज गीत !
पछिल्लो समय तिज गीत पनि विकृत हुँदै गयो भन्ने गरेको सुनिन्छ । यसमा गायक–गायिकाहरूको दोषभन्दा पनि सिर्जना गर्ने स्रष्टाको दोष देख्छु । गायक–गायिका पनि सचेत हुनुपर्छ । आफूले के गाउँदै छु भन्ने कुरा ख्याल गर्नुपर्छ । मैले पनि तिजका गीत गाएको छु । पहिले तिजका गीत सामाजिक कथामा हुनुपर्छ भनेर गाइन्थ्यो । अहिले समाजलाई पाच्य नहुने द्विअर्थी शब्दका गीत आउन थाले । तिज गीत सामाजिक छँदै छैनन् । गाउने स्वतन्त्रता छ भन्दैमा समाजलाई अपाच्य हुने गीत गाउँनुहुँदैन । लोकले बनाइदिएको एउटा मर्यादा छ, त्यो मर्यादाभित्र बसेर लोकगीत सिर्जना हुनुपर्छ र गाउँने मान्छेले पनि आफैँलाई सेन्सर गरेर गाउनुपर्छ । कुन कलाकार त्यो दायराभित्र बस्यो, को बसेन भन्ने स्रोता दर्शकले छुट्याउनुपर्छ । अन्ततः हाम्रो न्यायलय भनेको श्रोता दर्शक नै हो ।
कलाकारहरू तीजको मर्यादा, धार्मिक संस्कार, आस्था, सामाजिक अभ्यासलाई मनन गर्दै गीतमा सामाजिक कथाहरू ल्याउने काममा लाग्नुपर्छ । तिजगीतमा कथाहरू आउनुपर्छ । गीतमार्फत सन्देश दिने काम कलाकारकै हो । यसबाट स्रष्टा टाढा भाग्न हुँदैन । नयाँ पुस्ताले पनि लोकले बनाएको मर्यादा भित्र बसेर गाउँनुपर्छ । आफू कस्तो समाजमा बसेको छु भन्ने हेक्का राख्नुपर्छ । यो कुरा मलाई पनि लागू हुन्छ ।
प्रतिक्रिया दिनुहोस