२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

लमजुङ : चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको बजेट ५ करोड २७ लाख र विज्ञ केन्द्रको ४ करोड ६२ लाख

  • २०८१ श्रावण २७, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङमा रहेका ३ वटा सरकारी कार्यालयले चालु आर्थिक वर्षमा स्वीकृत भएर आएको वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृषि ज्ञान केन्द्र लमजुङ, भेटेरिनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र लमजुङ र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

    सार्वजनिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र लमजुङमा चालु आर्थिक वर्षका लागि ५ करोड २७ लाख ५ हजार रुपैयाँ बजेट स्वीकृत भएर आएको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाका अनुसार गत वर्ष भन्दा यसर्ष बजेट कम आएको छ । गत वर्ष कृषि ज्ञान केन्द्रमा विभिन्न शिर्षकमा ६ करोड १ लाख ६१ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । गत वर्षको तुलनामा यस वर्ष बजेट घटेर आएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख वरिष्ठ बालि विकास अधिकृत सुदिप खतिवडाले बताउनुभयो ।

    उहाँका अनुसार चालु आर्थिक वर्षका लागि पुँजिगत प्रशासनिक खर्च तर्फ ६ लाख, चालु प्रशासनिक बजेट तर्फ एक करोड ३१ लाख ११ हजार, तालिम तथा गोष्ठि सञ्चालनका लागि १० लाख ६१ हजार, कार्यक्रम बजेट ४७ लाख ७४ हजार, अनुदान रकम ३ करोड ३१ लाख ५९ हजार रुपैयाँ बजेट बिनियोजन भएर आएको छ ।

    खतिवडाका अनुसार चालु आर्थिक वर्षमा कुल बजेटको १ दशमलव १४ प्रतिशत बजेट पूजिगत प्रशासनिक खर्चका लागि रहेको प्राप्त भएको छ । चालु प्रशासनिक बजेट २४ दशमलव ८८ प्रतिशत, तालिम तथा गोष्ठिका लागि २ दशमलव ०१ प्रतिशत, कार्यक्रम बजेट ९ दशमलव ०६ प्रतिशत, अनुदान रकम ६२ दशमलव ९१ प्रतिशत विनियोजन भएर आएको छ ।

    कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षमा फलफुल विकास आयोजना, खाद्यन्नवाली प्रवर्दन आयोजना, तरकारी बाली प्रवर्दन आयोजना, समुदाय स्तरमा आलु प्रवर्दन आयोजना, सुन्तलाजात फलफुल विकास आयोजना, कृषि तथ्याङ्क तथा बजार विकास आयोजना, मसला तथा निर्यातजन्य बाली प्रवर्दन आयोजना, विउ उत्पादन प्रवर्दन आयोजना, रैथानेबाली प्रवर्दन आयोजना, जलवायु मैत्री प्रविधि प्रवर्दन कार्यक्रम र पोषण सुरक्षा कार्यक्रम स्वीकृत भएर आएको छ ।

    यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालु आर्थिक वर्षका लागि विभिन्न शिर्षकमा ४ करोड ६२ लाख बरारबरको कार्यक्रम सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख डा.सुनिल न्यौपानेका अनुसार सार्वजनिक गरेको कुल बजेट मध्य चालु तर्फ २ करोड ५२ लाख रुपैयाँ र पूँजिगत तर्फ १० लाख बजेट स्वीकृत भएर आएको बताउनुभयो ।

    उहाँका अनुसार पुँजीगत तर्फ १० लाख, प्रशासनिक खर्चका लागि एक करोड ३८ लाख ७० हजार, अनुदान तथा प्रोत्साहन वितरण तर्फ एक करोड ५० लाख ८० हजार, पशु स्वास्थ्य तर्फ एक करोड ४५ लाख ८० हजार र क्षमता विकास तथा समन्वय तर्फ १६ लाख ७० हजार रुपैयाँ बजेट रहेको छ ।

    यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले चालु आर्थिक वर्षका लागि ५ करोड २८ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । कार्यालय प्रमुख अजय अधिकारीका अनुसार चालु आर्थिक वर्षमा उपभोग खर्चका लागि ८५ लाख ४० हजार, कार्यालय सञ्चालन खर्चका लागि ४० लाख ८० हजार, चालु तथा पूँजिगत अनुदानका लागि ३ करोड ४४ लाख ९६ हजार, कार्यक्रम तथा सिपविकास कार्यक्रमका लागि ५२ लाख ७२ हजार ३ सय रुपैयाँ बजेट रहेको बताउनुभयो ।

    कार्यक्रममा तिनवटै कार्यालयका वार्षिक कार्यक्रम सार्वजनिक गर्नुका साथै सहभागीका सुझाव समेत संकलन गरिएको छ । वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले अपेक्षीत उपलब्धी हाँसिल गर्ने गरि काम गर्न तिन वटै कार्यालयलाई अनुरोध गर्नुभएको छ । कार्यक्रमहरु लक्षित वर्गसम्म पुग्नुपर्ने र हरेक कार्यक्रमको प्रभावकारी कार्यान्वयन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रम बनाउने बेला कृषकलाई प्रोत्साहन हुने गरि कार्यक्रम तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषि र पशु क्षेत्रका लागि राज्यले धेरै कार्यक्रम र सहुलियत ल्याएको भन्दै उहाँले उदेश्य अनुरुप कार्यन्वयन भए नभएको विषयमा अनुगमन खाँचो औल्याउनुभयो । किसानका माग र आवश्यकता सम्वोधन गर्ने दायित्व स्थानीय, प्रदेश र संघ सरकारको भएकाले तिनै तहका सरकार जिम्मेवार वन्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सहभागी कृषकहरुबाट आएका सुझावलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती तामाङ, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र लमजुङका प्राविधिक सहायक समिक्षा सेढाइले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका ८ वटै स्थानिय तहका कृषि तथा पशु शाखाका कर्मचारी, कृषक ल
    गायतको सहभागीता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    ↑