लमजुङ–हातमुख जोर्नकै लागि विदेश जाने सोच राख्नुभयो, लमजुङको सुन्दरबजार नगरपालिका–११ ठूलोश्वाँराका धु्रवबहादुर दुराले ।
विदेश यात्राका लागि लामो प्रयास पनि गर्नुभयो । तर पटक–पटककोे प्रयासमा पनि उहाँ विदेश जान सक्नुभएन ।
‘बिदेश जाने सोचले पटकपटक प्रयास गरेँ । तर विदेश यात्रा जुरेन,’ उहाँले भन्नुभयो ।
हातमा काम भएन । साथमा पैसा । घरपरिवार त पाल्नैपर्यो । त्यो जिम्मेवारी उहाँकोे काँधमा थियोे ।
ऋण काढेरै मौरीपालन
धेरैले उहाँलाई घरमा त्यसै बस्न भन्दा मौरी पाल्न सुझाए । घरपरिवारको सल्लाहमा उहाँले मौरीपालन गर्ने योजना बुन्नुभयो ।
‘घरमा दुई वटा मुढे घार थिए । त्यसबाट पनि राम्रै मह उत्पादन हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘व्यवस्थित र व्यवसायिक रुपमा मौरीपालन गर्न सके राम्रो कमाउन सकिन्छ भन्ने विश्वास मनमा पलायो ।’
मनभरी मौरीपालन गर्ने सोच । तर साथमा पैसा थिएन । त्यसैले उहाँले ऋणै काढेर मौरीपालनमा होमिनुभयो । च्वाइस नेपालबाट पचास हजार रुपैयाँ ऋण लिई ‘बेगनास ताल मौरी फर्म’बाट सेरेना जातका १५ गोलासहितकोे मौरी घार ल्याइ उहाँले मौरीपालन व्यवसाय सुरु गर्नुभयो ।
२०६५ सालबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले फस्टाएको छ । थप विस्तार भएको छ ।

व्यवसाय फस्टाउँदो, कमाइ लोभलाग्दो
उहाँको ‘दुराडाँडा मौरीपालन तथा घार उद्योग’मा अहिले सेरेना जातका एक सय ६० वटा गोलासहितको मौरी पालिएका छन् । पर्यटकीय स्थल तुर्लुङकोट, भाँगु, बाख्रेजगत र मध्यनेपाल नगरपालिकाको मिदिम खोलाको जङ्गलमा मौरीका घार राख्नुभएको छ ।
यसका साथै दुराको घर, बार्दली, वरिपरि अहिले मौरीका घार नै घार देख्न सकिन्छ । उहाँको पौरख उद्यम देखेरै सबैले तारिफ गर्छन् । अझै अघि बढ्न प्रेरणा दिन्छन् ।
श्रीमति, बाबु–आमाको साथमा मौरीपालन गर्दै आउनुभएका दुराकोे प्राय : समय मौरीको रेखदेखमै बित्छ । अहिले मह काढ्ने सिजन । उहाँ यसैमा व्यस्त हुनुहुन्छ । मौरीपालनमै उहाँको मन रमेको छ । यसैबाट राम्रो आर्जन भएको छ । मौरीपालन व्यवसायबाट वार्षिक खर्च कटाएर पाँच लाख हाराहारीमा वचत गर्न सफल भएको उहाँ बताउनुहन्छ । महका साथै गोलासहितको मौरी घार पनि बेच्दै आउनुभएको छ, उहाँले ।
‘अहिलेसम्म सात सय बढि गोलासहितको मौरी घार बेचिसकेको छु । यसका साथै मह बिक्रीबाट मनग्य कमाइ भएको छ । उत्पादन सहजै बिकेको छ । समस्या छैन । कमाइमा सन्तुष्ट छु,’ मह काढ्न व्यस्त हुनुभएका धु्रवले मुस्कुराउँदै भन्नुभयो । उहाँले उत्पादित मह प्रतिकिलो एक हजार एक सय रुपैयाँ, गोलासहितको प्रतिघार नौ हजार रुपैयाँ र खाली मौरी घार तीनहजार दुई सय रुपैयाँमा बेच्दै आउनुभएको छ ।
उत्पादन सजिलै बिक्री
उत्पादन लिन किन्न ग्राहक व्यापारी घरमै आउँछन् । उत्पादन स्थानीय सुन्दरबजार, बेसीशहर, भोर्लेटारका साथै काठमाडौँ–पोखरासम्म पुग्छ । फर्ममा हालसम्म एक करोड हाराहारीमा लगानी भइसकेको उहाँले बताउनुभयो । व्यवसायमा आफुले विभिन्न सहयोग पाएको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र लमजुङ, कृषि शाखा, सुन्दरबजार नगरपालिका, किट विकास निर्देशनालय पोखरा, व्यवसायिक किट विकास केन्द्र बन्दिपुरबाट विभिन्न समयमा अनुदान सहयोग पाएको उहाँले बताउनुभयो । मौरीपालन व्यवसायले दुराको परिवारको गर्जो सजिलै टरेको छ । ‘घरखर्च टरेको छ । केही वचत भएको छ । मौरीपालनबाटै एक छोरालाई काठमाठौँमा सिभिल ईन्जिनियरिङ र छोरीलाई काठमाडौँमै स्नातक तहको पढाइ पढाएको छु,’ सगौरव उहाँले सुनाउनुभयो ।
‘श्रम–पसिना देशमै माटोमा बगाउँ’
आगामी दिनमा यसै व्यवसायलाई थप व्यवस्थित र विस्तार गरी केही युवाहरुलाई रोजगारी दिने उहाँले लक्ष्य छ ।
विदेश जाने पैसा र विदेशमा बगाउने श्रम–पसिना देशकै माटोमा लगानी गर्न सके, पोख्न सके पैसाकै लागि विदेश भासिनु नपर्ने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘आवश्यक ज्ञान सीप लिएर श्रम–पसिना देशकै माटोमा कृषि उद्यममा खर्चिउँ । पैसाकै लागि विदेश जानु पर्दैन । सम्भावना यहीँ छ ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस