गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि क्षेत्र रहेको बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका -७ स्थित पाउँदीमा शनिबार आयोजित २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका मन्त्री गुरुङले राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
कृषि उत्पादनमा आत्मनिर्भर हुन सकेमा मात्रै पनि राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ ।
यस्तै विभिन्न प्रभावकारी योजना निर्माण, कार्यान्वयन र पुर्वाधार निर्माण गरि कृषि क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको छ । यस क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच साथ, सहयोग समन्वय हुनु जरुरी छ,” मन्त्री गुरुङले भन्नुभयो ।
यसैगरी कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जिल्लामा धान खेतीको विकास र विस्तारमा निरन्तर लागि परेको बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यलयका प्रमुख लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै अवसरमा जिल्लाका उत्कृष्ट किसानहरुलाई नगद सहित सम्मान समेत गरिएको छ ।
कार्यक्रम स्थानीय सुन्दर बीउ उत्पादक कृषि सहकारी, सुन्दरबजार नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङ (मनाङ) र कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा संचालन गरिएको हो ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस