
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–७ मा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)मा नेविसंघले तालाबन्दी गरेको छ । नेपाल विद्यार्थी संघ, लमजुङ क्याम्पस इकाई समितिले विभिन्न ६ बुँदे मागसहित आज (आइतबार) क्याम्पस प्रमुख मिलन सुवेदीलाई ज्ञापन पत्र बुझाउँदै क्याम्पसमा तालाबन्दी गरेको हो ।
नेविसंघ लमजुङ इकाई सभापति असिम वस्ती, निवर्तमान सभापति सुनिल बस्नेतसंगै नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरे, निर्दोष बिक्रम पौडेल, दीपक ओझा, सुदीप अधिकारी, नेवि संघ लमजुङका कार्यवहाक सभापति दिलिप राना मगरसहितको टोेलीले ज्ञापन पत्र बुझाउँदै क्याम्पस प्रशासनसंग छलफल समेत गरेको थियो ।

विगतमा लमजुङ क्याम्पसमा भएका दोहोरो झडपहरुमा क्याम्पस प्रशासन आफैँले अध्ययन गरी प्रतिवेदन तयार पारेर आवश्यक कारवाही गर्ने गरेकाले यसपटक पनि क्याम्पस प्रशासनले कुनै प्रतिशोध नराखी निष्पक्ष छानबिन गरी त्रिवि नियमावली अनुसार कार्वाही गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाई क्याम्पस तालाबन्दी गरिएको नेविसंघ लमजुङ क्याम्पस इकाई सभापति वस्तीले जानकारी दिनुभयो ।

नेविसंघ लमजुङ क्याम्पस इकाइ समितिद्धारा जारी विज्ञप्तिमा क्याम्पसले प्रदान गर्ने शैक्षिक एवं प्रशासनिक सेवा प्रभावकारी बनाउनका लागि सम्पूर्ण शिक्षक, विद्यार्थी एवं कर्मचारीको दैनिक समयतालिका सार्वजनिक गर्नुपर्ने, क्याम्पसमा अध्ययनरत छात्राहरुको संख्या धेरै भएको तर छात्रावासको सुविधा पर्याप्त नभएकाले छात्राहरुलाई क्याम्पस परिसर भित्रै आवासीय सुविधा प्रदान गर्नुपर्ने, प्रयोगात्मक अभ्यासका लागि प्रयोगशाला अपुग सम्पूर्ण शैक्षिक सामग्रीहरु उपलब्ध गराउनुपर्ने माग उल्लेख गरिएको छ ।
‘शुद्ध खानेपानी एवं व्यवस्थित शौचालयको व्यवस्था गरिनुपर्ने, भर्नाको क्रममा इन्टरनेट शुल्क तिर्ने गरेको भएतापनि विद्यार्थीहरुले त्यसको प्रयोग गर्न नपाएकाले क्याम्पस परिसरभित्र निःशुल्क इन्टरनेटकोे व्यवस्था गर्नुपर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।
आफुहरुको माग यथाशीघ्र सम्बोधन गर्न जोडदार माग गरिएको र मागहरुको सम्बोधन नभएसम्म लमजुङ क्याम्पसमा तालाबन्दी जारी रहने नेविसंघ लमजुङ क्याम्पस इकाइ समितिका निवर्तमान सभापति बस्नेतले बताउनुभयो ।
विद्यार्थीको ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख सुवेदीले यसबारेमा थप अध्ययन गरी छानबिन समिति बनाइ निर्णय गरिने बताउनुभयो ।
‘विज्ञप्ति आएको छ । म भर्खरै यहाँ आएको छु । यसबारेमा टिमसंग बसेर थप अध्ययन गर्नेछु । सायद छानबिन समिति बन्नेछ । समिति बनिसकेपछि विज्ञप्तिको पहिलो बुँदामा यहाँहरुले जे लेख्नुभएको छ । त्यसै अनुसार निष्पक्ष पक्षपातरहित ढंगले निर्णय हुनेछ,’ उहाँले भन्नुभयो ।
लमजुङ क्याम्पसमा गएको शनिबार दिउँसो नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस