
लमजुङ–लमजुङको दोर्दी गाँउपालिका–२ अर्चलबोट पीपल भञ्ज्याङमा रहेकोे लक्ष्मीनारायण माविको प्रांगणमा भोली (शनिबार) बृहत एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै छ ।
रोट्रयाक्ट्र, रोटरी क्लब अफ नारायणी मिडटाउनको आयोजना तथा लक्ष्मीनारायण मावि, अर्चलबोट र लक्ष्मीनारायण भूतपूर्व विद्यार्थी समाजकोे समन्वयमा विशेषज्ञ डाक्टरसहितको बृहत एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।
दुरदराज, गाउँघरमा रहेका नागरिकसम्म सरल, सहज रुपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले विशेषज्ञ डाक्टरसहितको बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको लक्ष्मीनारायण भूतपूर्व विद्यार्थी समाजका सह–संयोजक किशोर विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरको सम्पूर्ण तयारी पुरा भएको छ । शिविरको प्रतिनिधि सभा सदस्य उर्मिला माझी पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । शिविर शनिबार बिहान ७ : ३० देखी साँझ ५ : ३० बजेसम्म संचालन हुनेछ ।
शिविरमा ३० जना विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिने समाजका अध्यक्ष नवीन अधिकारीले बताउनुभयो । उहाँका अनुसार शिविरमा आँखा परिक्षण, दन्त परिक्षण, स्त्री रोग विशेषज्ञ सेवा, सुगर, प्रेसर, बाथ, युरिक एसिड तथा जनरल फिजिसियन लगायतका स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस