
सुवास मजाकोटी
लमजुङ–छाना, माना र नानाका लागि विदेश भासिनेको कमी छैन । तर कतिपय भने आफ्नै घरगाउँमा बसी उद्यम गरिरहेका छन् । स्वरोजगार बनी मनग्य आर्जन गरी सहजै जीवनयापन गरिरहेका हुन्छन् ।
त्यसैको एक उदाहरण हुनुहुन्छ, लमजुङ राइनास नगरपालिका–८ हर्राबोटका प्रकाश थपलिया । विगत ३५ वर्षदेखि उहाँ हर्राबोटमा किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । मनग्य कमाउँदै आउनुभएको छ ।
किराना व्यवसायबाट राम्रै आम्दानी गर्न सफल हुनुभयो, उहाँ । किराना पसलसंगै अझै थप केही उद्यम गर्ने सोच उहाँको मनमा पलायो ।
त्यही सोचका साथ उहाँले १७ लाख लगानीमा ‘कालिका राइस मिल संचालनमा ल्याउनुभएको छ । विगतमा अन्न कुटानी पिसानीका लागि अन्यत्र जानुपरेकोमा अहिले आफ्नै गाँउठाँउमा मिल सञ्चालन भएपछि स्थानीयको समय, श्रम र पैसाको बचत भएको स्थानिय गोबिन्द पन्तले बताउनुभयो ।
उहाँको मिलबाट राइनास नगरपालिका वडा नं ८, ९ र १० का स्थानीय लाभान्वित भएका छन् । व्यवसायी थपलियाले मिल सञ्चालनमा आएसंगै एक जनालाई रोजगारी समेत दिनुभएको छ ।
परिवारको साथमा गाउँमै व्यापार\व्यवसाय गर्दै आउनुभएका थपलियालाई परिवारको पनि साथ सहयोग मिलिरहेको छ । मनमा जोस जाँगर भएमा विदेश जाने पैसा र परदेशमा बगाउने पसिना घरदेशकै माटोमा खर्चन सके, केही व्यापार, व्यवसाय, उद्यम गर्न सके पैसाकै लागि विदेश जान नपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस