२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

अर्चलबोटमा निःशुल्क स्वास्थ्य शिविर हुँदै : गाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्य

  • २०८० माघ २०, शनिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङको दोर्दी गाँउपालिका–२ अर्चलबोट पीपल भञ्ज्याङमा रहेकोे लक्ष्मीनारायण माविको प्रांगणमा बृहत एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो ।

    रोट्रयाक्ट\रोटरी क्लब अफ नारायणी मिडटाउनको आयोजना तथा लक्ष्मीनारायण मावि, अर्चलबोट र लक्ष्मीनारायण भूतपूर्व विद्यार्थी समाजकोे समन्वयमा आउँदो फागुन ५ गते विशेषज्ञ डाक्टरसहितको बृहत एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

    दुरदराज, गाउँघरमा रहेका नागरिकसम्म सरल, सहज रुपमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले विशेषज्ञ डाक्टरसहितको बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको लक्ष्मीनारायण भूतपूर्व विद्यार्थी समाजका सह–संयोजक किशोर विकले समुन्नती अनलाइनलाई जानकारी दिनुभयो ।

    शिविरमा ३० जना विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गरिने समाजका अध्यक्ष नवीन अधिकारीले बताउनुभयो । उहाँका अनुसार शिविरमा आँखा परिक्षण, दन्त परिक्षण, स्त्री रोग विशेषज्ञ सेवा, सुगर, प्रेसर, बाथ, युरिक एसिड तथा जनरल फिजिसियन लगायतका स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

    पत्रकार सम्मेलनमा दोर्दी गाउँपालिका २ का वडाअध्यक्ष गणेश खत्रीका साथै समाजका पदाधिकारी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस