
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–७ मा रहेको सुन्दरबजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक समूहतर्फका उम्मेदवार उत्तम गुरुङ पुन : निर्वाचित हुनुभएको छ । नयाँ कार्य समितिका लागि मंगलबार भएको चुनावमा उहाँसहितको पुरै प्यानल विजयी भएको हो ।

समितिको उपाध्यक्षमा सुवेदार रनबहादुर घले, सचिवमा नेत्रबहादुर गुरुङ, कोषाध्यक्षमा तुलाराम गुरुङ, सह–सचिवमा सुकमाया गुरुङ र सदस्यमा सुवेदार चन्द्रबहादुर दुरा, रामकृष्ण कुमाल, कृष्णप्रसाद पाण्डे, शारदा भण्डारी, निर्मला नेपाली र लेखा समिति संयोजकमा सुरेन्द्रप्रसाद पौडेल निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा प्रगतिशिल तर्फबाट अध्यक्षमा भोजबहादुर गुरुङ र उन्नतीशिल तर्फबाट सुवेदार कृष्णबहादुर दुरा सहितको समूह चुनावी मैदानमा होमिएको थियो ।
समितिको अध्यक्षमा निर्वाचित भएसंगै उत्तम गुरुङले उपभोक्ताहरुलाई स्वच्छ, शुद्ध पिउने पानी वितरण गर्नका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विगत वर्षहरुमा पनि सुन्दरबजार खानेपानीको भौतिक संरचना निर्माणका साथै सरल, सहज रुपमा शुद्ध पिउने पानी वितरण गर्ने कार्यमा आफु लागिपरेको बताउँदै आगामी दिनमा पनि त्यस कार्यले निरन्तरता पाउने उहाँले विश्वास दिलाउनुभयो ।
सबै पक्षलाई समेटी खानेपानी समितिको श्रीवृद्धिमा सदैव काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैगरी, निर्वाचित सिंगो कार्य समितिका पदाधिकारीलाई बुधबार प्रत्यक्ष रुपमा भेटी नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
सबै पक्षसंग हातेमालो गर्दै सरल, सहज र सुलभ रुपमा शुद्ध पिउने पानी वितरण कार्यमा निरन्तर जुटिरहन उहाँले सिंगो कार्य समितिलाई आग्रह गर्नुभयो ।
विगतमाझैँ आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै उपभोक्ताको मन जित्ने गरी काम गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
खानेपानीको समग्र पक्षको विकासमा आफुले सदैव सघाउने डाक्टर गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस