
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडार फूलबारी घर हाल युकेमा रहनुभएका राजकुमार सुनार (राज-शान्ति) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ ।
विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल राज-शान्तिले समाजसेवामा उच्च योगदान पुर्याएको भन्दै ‘तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, मलेशिया अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान’बाट सम्मानित हुनुभएको हो । क्वालिटी फिल्मस् प्रालिद्वारा मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित एक समारोहमा उहाँलाई अवार्ड प्रदान गरिएको हो ।
उहाँ राजशान्ति फाउण्डेशन युकेका संस्थापक हुनुहुन्छ । यस फाउण्डेसनमार्फत राजशान्तिले देश तथा विदेशमा विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आउनुभएको छ । लामो समयसम्म ब्रिटिस गोर्खा सेनामा काम गर्नुभएका सुनार गीतकार, लेखक, साहित्यकारका रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ ।
२०७२ सालको भूकम्पमा फाउण्डेशनमार्फत भूकम्प पीडितहरुलाई विभिन्न खाद्य सामग्री प्रदान गर्नुका साथै २०७६\०७७ सालमा पनि कोरोनाबाट जोगिन नेपालीहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नुभएको थियो ।
नेपालका विपन्न परिवारका क्यान्सरपीडित, मृगौला पीडितको उपचारमा पनि उहाँले फाउण्डेसनमार्फत आर्थिक सहयोग गर्दै आउनुभएको छ । यसैगरी, समाजसेवी सुनारले लमजुङका विपन्न विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद, गीत-संगीतका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
आफुलाई सामाजिक सेवाका क्षेत्रमा जुट्न घर परिवारका साथै धर्मपत्नी शान्ति सुनारको पनि उत्तिकै साथ, सहयोग रहेको सुनारले बताउनुभयो । आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा निरन्तर जुटिरहने राजशान्तिले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस