
लमजुङ–नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले मौलिक कला, परम्परा, संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
लमजुङको राइनास नगरपालिका–१० कोकेगाउँस्थित कालिका तमू समाजको भवनमा आयोजित ‘राइनास नगरपालिका स्तरीय तमु ल्होसार’ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै डाक्टर गुरुङले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय मौलिक संस्कार, संस्कृति हराउँदै गएको उल्लेख गर्दै उहाँले मौलिक कला, परम्परा, संस्कृति हराएमा आफ्नो पहिचान हराउँदै जाने भएकाले त्यसको संरक्षण गर्नुकोे विकल्प नरहेको उहाँले बताउनुभयो । मौलिक कला, परम्परा, भाषा, संस्कार–संस्कृतिका दृष्टिले नेपाल धनी रहेको बताउँदै यसलाई हराउन नदिनका लागि सम्बद्ध पक्ष एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
ग्रामीण पर्यटन क्षेत्रको विकास गर्दै हाम्रा मौलिक संस्कृति पस्केर धेरैधेरैभन्दा धेरै बाह्य पर्यटक भित्र्याउन सकेमा घरगाउँमै स्वरोजगार सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । ‘यसो हुन सकेमा गाउँ छाड्ने र विदेश पलायन हुने क्रम रोक्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
राइनास नगरपालिकास्तरीय तमु ल्होसार विशेष कार्यक्रमले नगरभित्रका सबै गुरुङ समुदायलाई एकतावद्ध बनाउन भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले लमजुङको समग्र पक्षको विकासमा सदैव लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रम राइनास नगरपालिका स्तरीय तमु ल्होसार मूल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्प खनाल, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, तमु ह्युँला छोँजदी गुरुङ राष्ट्रिय परिषद् राइनासका अध्यक्ष खड्क गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमकै अवसरमा मौलिक घाँटु नाच, सेर्का नाच, कृष्ण चरित्र लगायतका प्रस्तुती प्रस्तुत गरिएको राइनास नगरपालिका वडा नं ९ का वडाअध्यक्ष लुविन्द्र गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रमको समापन राइनास नगरपालिका वडा नं १० का वडाअध्यक्ष लक्ष्मण गुरुङले गर्नुभएको हो । राइनास नगरपालिकास्तरीय तमुु ल्होसार कार्यक्रम राइनास नगरपालिका वडा नं १० को आयोजना र राइनास नगरपालिकाकोे सहयोगमा संचालन भएको हो ।
प्रतिक्रिया दिनुहोस