२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङ राइनासकी प्रतिमा गुरुङ ‘संयुक्त राष्ट्रसंघ मानव अधिकार पुरस्कार’बाट पुरस्कृत

  • २०८० मंसिर ३०, शनिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङको राइनास नगरपालिका–१० निवासी प्रतिमा गुरुङ ‘संयुक्त राष्ट्रसंघ मानव अधिकार तथा वातावरणीय पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

    शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रतिमा गुरुङले एसियाको प्रतिनिधित्व गर्दै ‘संयुक्त राष्ट्रसंघ मानव अधिकार तथा वातावरणीय पुरस्कार–२०२३ बाट पुरस्कृत एवं सम्मानित हुनुभएको हो ।

    नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको धर्मपत्नी प्रतिमा गुरुङले लामो समयदेखी अपांगता भएका व्यक्तिहरुका साथै पछाडि परेका समुदायको हक–हितमा निरन्तर काम गर्दै आउनुभएको छ ।

    प्रतिमा गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा अपांगता भएकाका साथै आदीवासी र सीमान्तकृत वर्गको हक–हितमा आवाज उठाउँदै आउनुभएको छ ।

    ‘एसियाबाट छनौट भई यस पुरस्कार प्राप्त हुनु मेरो लागि ठूलो सम्मान हो । यसले सामाजिक सेवाका क्षेत्रमा अगाडि बढ्न झनै प्रेरणा प्रदान गरेको छ,’ उहाँले भन्नुभयो ।

    पुरस्कार प्राप्त गरेसंगै उहाँले स्थानीय देखी विश्वव्यापी क्षेत्रसम्मको आफ्ना पुर्खा, अग्रज, विश्वभरका आदिवासी, अपांगता भएका व्यक्ति, आफ्नो समुदाय र सहकर्मीप्रति सम्मान भाव व्यक्त गर्दै यसले आफु र आफ्नो कामको लागि विश्वव्यापी समन्वय निर्माण गरेको उल्लेख गर्नुभयो ।

    गुरुङ अपांगता राष्ट्रिय निर्देशन समितिको विषय विज्ञ समेत हुनुहुन्छ । उप–प्राध्यापक समेत रहनुभएका गुरुङ यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसक्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस