२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङको पाउँदी : सतबीज छर्नेको घुइँचो, पितृ उद्धार हुने धार्मिक विश्वास (फोटो–फिचर)

  • २०८० मंसिर २५, सोमबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-मस्र्याङ्दी नदी किनारा । बिहानीपखको चिसोे । चिसोको कुवै प्रवाह नगरी मस्र्याङ्दी किनारामा स्नान गरी सतबीज छर्दै हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–९ सिउँडीबारका सुरजकुमार श्रेष्ठ ।

    हरेक वर्ष बाला चतर्दुशीका दिन आफ्ना स्वर्गीय पिता रामकुमार श्रेष्ठको सम्झनामा लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीस्थित मस्र्याङ्दी नदी किनारामा रहेको कर्मदा नदीका शिवजी मन्दिर परिसरमा उहाँले यसरी नै सतबीज छर्दै आउनुभएको छ । ‘स्वर्गीय पिताको सम्झनामा हरेक वर्ष बाला चतुर्दशीका दिन यहाँ आइन्छ । स्नान गरी सत्बीज छरिन्छ । दान दक्षिणा गरिन्छ,’ उहाँले भन्नुभयो ।

    उहाँमात्र होइन आफ्ना स्वर्गीय माता–पिताको सम्झना र पितृ उद्धारका लागि पाउँदीमा बर्सेनी बाला चतर्दुशीका दिन हजारौँ संख्यामा भक्तजनहरु आउँछन् ।

    कृृषिजन्य उपज र घरेलु हस्तकलाका सामग्रीको प्रवद्र्धन र बजारीकरणमा टेवा
    विशेषगरी : पाउँदीस्थित मस्र्याङ्दी नदी किनारामा रहेको कर्मदा नदीका शिवजी मन्दिरमा ठूलो एकादशी र बाला चतुर्दशीका दिन ठूलो मेला लाग्ने र यहाँ मेला भर्न हजारौँ संख्यामा भक्तजनहरु आउने गरेका कर्मदा नदी मूल व्यवस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले बताउनुभयो ।

    मेलाले मौलिक संस्कार, संस्कृतिको संरक्षणका साथै स्थानीय कृृषिजन्य उपज र घरेलु हस्तकलाका सामग्रीको प्रवद्र्धन र बजारीकरणमा समेत टेवा पुर्याएको डाक्टर गुरुङले बताउनुभयो ।

    ‘एकादशी र बाला चतर्दुशीका दिन यहाँ विशेष धार्मिक मेला लाग्छ । श्रद्धालु भक्तजनको निकै घुइँचो लाग्छ । यसले यस ठाउँको प्रचारप्रसारमा ठूलो टेवा पुर्याएको छ,’ उहाँले भन्नुभयो ।


    पितृ उद्धार हुने धार्मिक विश्वास
    बाला चर्दुशीका दिन यहाँ आइ पूजाआराधना गरेमा, सतबीज् छरेमा पितृको उद्धार हुुने धार्मिक विश्वास रही आएको संस्कृतिप्रेमी सुन्दरबजार नगरपालिका–७ पाउँदीका चन्द्रप्रसाद पोखरेलले बताउनुभयो ।

    यहाँ मेला भर्न लमजुङ, तनहुँ, गोरखाबाट उलेख्य संख्यामा भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो । कृषिजन्य उपज र घरेलु हस्तकलाका सामग्री बेच्नका लागि धादिङबाट पनि व्यापारीहरु आउने गरेको उहाँले बताउनुभयो ।

    धार्मिक मेला, महोत्सवलाई व्यवस्थित गर्नुका साथै यसको प्रवद्र्धनका लागि मन्दिर परिसरमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेको छ ।

    यहाँ एक सय आठ फिट अग्लो शिवजीको मूर्ति निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन भौतिक संरचनाको निर्माणपश्चात् यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको स्थानीय सरोकारवालाहरु बताउँछन् ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस