२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

लमजुङमा उत्पादित अलैँचीको माग उच्च : अलैँची बिक्रीबाट यसवर्ष २४ करोड आम्दानी

  • २०८० मंसिर १४, बिहिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–पहाडी जिल्ला लमजुङमा उत्पादित अलैँचीको माग उच्च छ । तुलनात्मक रुपमा यहाँ उत्पादित अलैँची गुणस्तरीय रहेकाले बजारमा माग उच्च हुने गरेको हो ।

    उत्पादित अलैँची टिप्ने, सुकाउने कार्यका साथै भण्डारणमा स्थानीय किसानले उचित ध्यान दिई गुणस्तर कायम गरेकाले लमजुङमा उत्पादित अलैँचीको बजारमा माग उच्च हुनुका साथै राम्रै मूल्यमा बिक्री हुने गरेको अलैँची जोन लमजुङका अध्यक्ष एवं अलैँची उत्पादक किसान सोमबहादुर तामाङले बताउनुभयो ।


    ‘अहिले किसानले अलैँचीको गुणस्तरमा ध्यान दिएका छन् । यहाँ रातो रंगको अलैँची उत्पादन हुने गर्छ । गुणस्तरका साथै रंगका कारण पनि लमजुङको अलैँचीको माग बढि हुने गरेको छ । अन्य ठाउँकोे भन्दा यहाँको अलैँचीले राम्रो मूल्य पाएको छ,’ उहाँले भन्नुभयो ।

    अलैँचीको भाउ बढ्दा किसान हर्षित

    अलैँची खेतीबाटै किसानले राम्रो आर्जन गरिरहेका छन् । अलैँचीको मूल्यमा आउने उतारचढावका कारण पछिल्लो समय यस खेतीमा उलेख्य संख्यामा किसानको आकर्षण नबढेतापनि गतवर्षको तुलनामा यसवर्ष उत्पादित अलैँचीले दोब्बर मूल्य पाएकाले किसान हर्षित भएका उहाँले बताउनुभयो ।

    यसवर्ष जिल्लामै सबैभन्दा बढि मस्र्याङ्दी गाउँपालिका–५ सञ्जापुमा अलैँची बिक्रीबाट एक करोड रुपैयाँ आम्दानी भएको तामाङले बताउनुभयो ।

    उहाँका अनुुसार जिल्लामा सबैभन्दा बढि अलैँची उत्पादन मस्र्याङ्दी गाउँपालिकामा हुन्छ । यस गाउँपालिकाको लुँदीमा ५५ लाख, छिनखोलामा ५० लाख हाराहारीमा अलैँची बिक्रीबाट आम्दानी भएको उहाँले उल्लेख गर्नुभयो ।

    सञ्जापुका किसान आशबहादुर गुरुङले आठ लाख, दिलमाया गुरुङले ७ लाख, गम गुरुङले पाँच लाख र सोनियाँ विकले चार लाख पचास हजार आम्दानी गर्न सफल हुनुभएको अलैँची जोन लमजुङका अध्यक्ष सोमबहादुरले बताउनुभयो । यसवर्ष जिल्लाका किसानले प्रति केजी एक हजार दुई सय रुपैयाँ देखी एक हजार चार सय रुपैयाँसम्म अलैँची बेचेका छन् ।

    अलैँची बिक्रीबाट लमजुङ भित्रियो २४ करोड रुपैयाँ
    समग्रमा जिल्लामा यसवर्ष अलैँची बिक्रीबाट २४ करोड रुपैयाँ भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले बताउनुभयो ।

    उहाँ अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस रकम आम्दानी भएको हो ।
    गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका हुन् ।


    जिल्लाको मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिकाका साथै बेसीशहर नगरपालिका र राइनास नगरपालिकाका केही क्षेत्रमा अलैँचीको व्यवसायिक खेती हुुँदै आएको छ । हाल जिल्लामा झण्डै ६ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आएको छ । यहाँका किसानले रामसाइ, गोलसाइ, भर्लाङ्गे जातका अलैँची लगाउँदै आएका छन् ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस


    ↑