लमजुङ–बर्सेनी हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ, लमजुङको पाउँदीमा ।
सुन्दरबजार नगरपालिका–७ पाउँदीस्थित मस्र्याङ्दी नदी किनारामा रहेको कर्मदा नदीका शिवजी मन्दिर परिसरमा पूजा–आजा गर्न, मेला भर्न बर्सेनी हजारौँ संख्यामा भक्तजनहरु आउने गर्दछन् । साथै पञ्चेबाजासहित फूलको डोरी तार्न र बगाउन पनि उलेख्य संख्यामा भक्तजनहरु यहाँसम्म आइपुग्छन् ।

यसरी एकादशीका दिन मस्र्याङ्दी नदीमा स्नान गरेमा, फूलको डोरी तारे, बगाएमा मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको कर्मदा नदीका शिवजी मन्दिर व्यवस्थापन मूल समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले बताउनुभयो ।
उहाँका अनुसार यसवर्ष दुई वटा फूलकोे डारी तारिएको छ भने ९ वटा फूलको डोली बगाइएको छ । विगतमाझैँ यसवर्ष पनि पाउँदीको एकादशी मेला भर्न लमजुङ, तनहुँ र गोरखाका साथै देशभरबाट हजारौँ संख्यामा भक्तजनहरु आएका उहाँले बताउनुभयो ।

एकादशी मेलालाई मध्यनजर गर्दै सुन्दरबजार नगरपालिकामा एकादशीका दिन सार्वजनिक बिदा दिइएको र यस्तो धार्मिक मेला महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
धार्मिक, सांस्कृतिक रुपमा मात्र नभई बर्सेनी एकादशीका बेला लाग्ने मेलाले ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुर्याउँदै आएको छ ।

पाउँदीमा लाग्ने एकादशी मेलामा स्थानीय कृषिजन्य उत्पादन सुन्तला, बदाम, भटमास, उखुका साथै कुटो–कोदालो, डोका–नाम्ला लगायतका विभिन्न घरेलु हस्तकलाका सामग्री बिक्रीका लागि विभिन्न जिल्लाबाट मानिसहरु यहाँ आइपुग्छन् ।

लमजुङको पाउँदीसंगै खुदी र लमजुङ र तनहुँको सिमाना सिसाघाट क्षेत्रमा पनि बर्सेनी एकादशीका बेला ठूलो मेला लाग्ने गर्दछ । मेला भर्नका लागि हजारौँ संख्यामा भक्तजनहरु त्यहाँ पुग्छन् ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस