
लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिकामा रहेका २३ जना भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिएको छ ।
नगरपालिकाभित्रमा लालपूर्जा उपलब्ध गराउन सिफारिस भएका ४७ जना सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुमध्ये २३ जनाले शुक्रबार जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य व्यक्तिको आवश्यक प्रकृया पुरा हुन बाँकी छ ।
जिल्लामा विगत ४५ बर्ष देखि बसोबास गरिरहेका व्यक्तिको नागरिकतासम्म नभएको, आफू बसिरहेको स्थान छोडेर अन्यत्र जान नचाहने जस्ता भूमीहिन व्यक्तिहरु रहेको भन्दै जग्गा उपलब्ध गराउन समेत समस्या भएको साथै अर्कोतर्फ सुगम स्थानमा जग्गा पाउन नै समस्या भएको उहाँले उल्लेख गर्नुभयो । सुन्दरबजार नगरपालिकासंगै अब राईनास नगरपालिकामा लालपूर्जा वितरणको कार्य गरिने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
सुन्दरबजार नगरपालिकाका भूमिहिन सकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्दै राष्ट्रिय भूमी आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था गरी स्थानान्तरण गर्नेमा सुन्दरबजार नगरपालिका देशमा नै पहिलो पालिका रहेको बताउनुभयो ।
सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले भूमिहिनले जग्गा पाए पनि घर बनाउन अझै चुनौति रहेको बताउनुभयो ।
‘यसमा पालिकाले के गर्न सक्छ भन्ने बारेमा सोचिरहेको छ । सुन्दरबजारमा रहेका भूमिहिनहरुलाई पहिलो चरणमा पूर्जा कसरी दिन सकिन्छ भनेर आफूहरु लागिरहेको र यसलाई मूर्त रुप दिन सकिएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ,’ उहाँले भन्नुभयो ।
लालपूर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य उर्मिला माझी पौडेल, सुन्दरबजार नगरपालिकाका नगर उप–प्रमुख भवानी के.सी., प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विभिन्न पार्टीका प्रमुख, प्रतिनिधिहरु, जनप्रतिनिधि लगायतले बोल्दै भूमिहिनलाई जग्गा उपलबध गराउन सकिएकोमा खुशी भाव व्यक्त गरेका थिए ।
जग्गा प्राप्त गरेसंगै स्थानीय भूमिहिनहरुले आफूले जग्गाधनी प्रमाण पूर्जाको अभावमा विभिन्न बाधा झेल्नुपरेको बताउँदै आफुहरुको जग्गा पाउने आशा आज यथार्थमा परिणत भएको भन्दै खुसी जनाएका थिए ।
राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अनुसार जिल्लाभरमा २ सय ५३ भूमीहिन र एक हजार दुइ सय ४५ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस