लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–६ की सन्तुमाया बुढाप्रिथी विगतमा हरेक वर्ष दशैँ सुरु हुनु अगावै ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएको आफ्नो घर लिपपोत गर्नका लागि आवश्यक रातो माटो लिन उहाँ दिदिबहिनीहरुसंग मिलेर हाँडेटारसम्म पुग्नुहुन्थ्यो ।
टाढाबाट ल्याएको रातो माटो, कमेरो र कालीमाटीले घर लिपपोत गर्न जुट्नुहुन्थ्यो । माटो, कमेरोले घर सिँगारेपछि बल्ल उहाँलाई दशैँ आएको मिठो आभाष हुन्थ्यो ।
तर अहिले उहाँले घर लिपपोत गर्न छाड्नुभएको छ । अहिले गाउँमै सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी नयाँ घर बनाएसंगै उहाँले दशैँमा पुराना घर रातो माटो, कमेरोले रंगाउन छाड्नुभएको हो ।
‘अहिले त गाउँ\गाउँका घरमा प्लाष्टर गरिएको छ । बजारमा थरीथरीका रंग पाइन थालेका छन् । त्यसैले घर रंगाइन्छ,’ उहाँले भन्नुभयो, ‘विगतमाजस्तो रातो माटो, कमेरो र कालीमाटीले घर रंगाउने चलन अहिले हराउँदै गएको छ ।’
सिमेन्ट, आधुनिक रंगको प्रयोग बढ्दो
उहाँका अनुसार विगतमा दशैँ\तिहार नजिकिदैँ गर्दा ग्रामीण क्षेत्रका बासिन्दालाई रातो माटो, कमेरो र कालीमाटीले घर सिँगार्ने चटारो हुन्थ्यो । टाढा–टाढा पुगेर रातो माटो, कमेरोले ल्याएर घर रंग्याउँथे । घर चिटिक्क पारेपछि बल्ल दशैँ आएको आभाष हुन्थ्यो । तर पछिल्लो समय गाउँ बस्तीमा यसरी घर रंगाउने, सिँगार्ने प्रचलन हराउँदै गएको उहाँ बताउनुहुन्छ ।
विगतमा दशैँ\तिहार सुरु हुनु अगावै घर रंगाउनका लागि रातो माटो, कमेरो र कालीमाटी लिनका लागि यहाँका स्थानीय समूहमा मिलेर टाढा–टाढासम्म पुग्थे ।
ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएका प्राय : हरेक घर रातो माटो, कमेरो, कालीमाटीले लिपपोत गरि चिटिक्क रंगाइन्थ्यो । सजाइन्थ्यो । तर पछिल्लो समय गाउँमा पनि सिमेन्ट प्रयोग गरी घर निर्माण गरिनुका साथै बजारमा विभिन्न थरीका रंग पाइन थालेसंगै रातो माटो, कमेरो, कालीमाटीले घर रंगाउने चलन हराउँदै गएको सुन्दरबजार नगरपालिका–६, ऐशेलुचौरकी शोभा परियारले बताउनुभयो ।
पुराना प्रचलन हराउँदै गएकोमा चिन्ता
अहिले गाउँगाउँमा यातायतको सुविधा पुगेको छ । ग्रामीण क्षेत्रमा समेत धमाधम सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी घर लगायतका अन्य भौतिक संरचना बन्ने गरेका छन् ।
बजारमा सजिलै थरीथरीका रंग पनि आउन थालेका छन् । त्यसैले पनि विगतमाजस्तो रातो, माटो, कमेरोले घर लिपपोत गर्ने प्रचलन हराउँदै जान थालेको छ ।
‘माटो, कमेरोले लिपपोत गर्न गाह्रो हुन्छ । घर पोत्न २\३ लाग्छ,’ उहाँले भन्नुभयो, ‘अहिले त फेरी गाउँ\गाउँमा सिमेन्ट प्रयोग गरी घर बन्न थाले । बजारको रंग प्रयोग हुन थाल्यो । माटो, कमेरो, कालीमाटीले घर रंगाउने चलन त हराउँदै गयो नि !’
आधुनिकतासँगै हाम्रा मौलिक संस्कृतिसंग जोडिएका विगतका प्रचलन हराउँदै गएकोमा पुराना पुस्ता चिन्ता व्यक्त गर्छन् ।

एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस