२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

लमजुङ : लेकमा चिसो बढ्दै, हिमालको काखैमा पुगेका घुम्ती गोठ बेसी झर्दै

  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लेक (माथिल्लो क्षेत्र)मा बिस्तारै चिसो बढ्दै छ । चिसो बढेसंगै हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठहरु बेसी झर्न थालेका छन् ।

    माथिल्लो क्षेत्रमा चिसो बढेकाले घुम्ती गोठहरु बिस्तारै तल (बेसी) झर्न थालेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका निमित्त प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो ।


    उहाँका अनुसार असोज पहिलोे सातादेखी नै घुम्ती गोठहरु बेसी झर्न थालेका हुने । माथिल्लोे क्षेत्रमा रहेका घुम्ती गोठहरु कात्तिक मसान्तसम्ममा बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसंगै माथि(लेक)मा चरणको अभाव हुने भएकाले यो समयमा भेँडीगोठहरु बेसी सारिन्छन् ।

    चिसोमा लेकमा हिउँले घाँस पुर्ने, गाइभैँसी, भेडाबाख्राका लागि चरणको पनि अभाव हुनुका साथै भेँडीगोठालालाई पनि बस्न सकस हुने भएकाले अहिले बिस्तारै घुम्ती गाइभैँसी गोेठ, भेडीगोठ बेसी झरेका डा. न्यौपानेले बताउनुभयो ।

    ‘लेकमा चिसो बढ्न थाल्यो । पशु आहाराको कमी हुन्छ । गोठालाई बस्न पनि असहज हुन्छ । चिसो छल्न र चाडपर्व मनाउनका लागि घुम्ती गोठहरु बेसी झर्दै छन्,’ उहाँले भन्नुभयो, ‘गर्मी मौसममा घुम्ती गोठ लेक उक्लन्छन् । चिसोमा बेसी झर्छन्,’ उहाँले भन्नुभयो ।


    यस्तै, जग्गाधनीलाई पैसा तिरेर, मल दिएर भेँडीगोठालाहरुले बेसीमा रहेका जग्गामा भेँडीगोठ राख्छन् । ‘बेसी सारिएका भेँडीगोठ चैतदेखी बिस्तारै लेक उक्लन्छन् । जेठसम्ममा भेँडीगोठ हिमालको काखैमा पुग्छन्,’ उहाँले भन्नुभयो ।

    घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका गोठालाहरु बर्सेनी बौद्ध हिमाल, माछापुच्छ्रे« हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाल लगायतका थुप्रै हिमालको काखैमा पुग्छन् ।


    घुम्ती भेडीगोठहरु ४ हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाईभैँसी गोठ भने ३ हजार मिटर उचाइसम्म मात्रै पुग्छन् ।

    परम्परागत रुपमा घुम्ती गोठमा गाईभैँसी, भेँडाबाख्रा पाल्ने परम्परा लमजुङमा अझै कायमै छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायतका ठाउँमा घुम्ती भेँडीगोठ रहेका छन् ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस