२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

लमजुङ : पशुमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु, किसानको पशुधनको रक्षा गर्ने उद्धेश्य

  • २०८० आश्विन २०, शनिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले यसवर्ष ‘पशुमा पूर्ण खोप कार्यक्रम’अन्तर्गत मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकामा पशुमा खोरेत रोग विरुद्धको खोप लगाउने अभियान बिहिबारबाट सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो ।

    पशुलाई सम्भावित रोग\संक्रमण लाग्नबाट जोगाइ किसानको पशुधनको रक्षा गर्ने उद्धेश्यले यस अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
    यस अभियानअन्तर्गत वडागत रुपमै खोप लगाउनका लागि ४९ जना खोपकर्ताहरु खटिएका उहाँले बताउनुभयो ।

    १५ दिनभित्रमा ती पालिकाहरुमा पालिएका गाइभैँसी र बंगुरमा खोरेत रोग विरुरद्धको खोप लगाइसक्ने विज्ञ केन्द्रले जनाएको छ ।
    डा. न्यौपानेका अनुसार गाईभैँसी र बंगुरमा लगाइने खोरेत रोग विरुद्धको खोप ६–६ महिनामा लगाउने गरिन्छ ।

    हाल जिल्लाका नगरपालिकाहरुमा मात्रै यस अभियान सञ्चालन गरिएकोमा आगामी पुस–माघमा जिल्लाका सबै स्थानीय तहमा पशु पूर्ण खोप कार्यक्रम संचालन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस