
लमजुङ–लमजुङको राइनास नगरपालिका–६ ढुंगेकोल खेलमैदानमा ऐतिहासिक राइनास नगरपालिकास्तरीय प्रथम योग शिविर सञ्चालन भएको छ । राइनास नगरपालिका, आयुर्वेद शाखाको आयोजना, राइनास नगरपालिका वडा नं ६ को व्यवस्थापन र पतञ्जली योग पिठ नेपालको सहजीकरणमा योग शिविर सञ्चालन भएको हो ।
समुदायमा योगको महत्वबारे जानकारी गराउने उद्धेश्यले राइनासमा आज (सोेमबार)बाट पाँच दिने योग शिविर सञ्चालन भएको हो ।
असोज ८ गते देखी १२ गतेसम्म सञ्चालन हुने योग शिविरको समुद्घाटन नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले गर्नुभएको हो ।

योग शिविरको समुद्घाटन समारोहमा बोल्दै डाक्टर गुरुङले मानव जीवनका लागि योग, ध्यान अपरिहार्य रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय आधुनिक व्यस्त जीवनशैलीका कारण मानवमा विभिन्न स्वास्थ्य समस्या देखिएको बताउँदै मानसिक र शारिरीक स्वास्थ्यका लागि योग, ध्यानको महत्व निकै रहेको र यसको यो महत्व र आवश्यकतालाई बुझेर यसलाई सबैले अबलम्बन गर्नुपर्नेमा डाक्टर गुरुङले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डाक्टर गुरुङले घरगाउँ, दूरदराजमा रहेका नागरिकसम्म योग, ध्यानको विषयमा जानकारी गराउने उद्धेश्यले योग शिविर सञ्चालन गरेकोमा आयोजक, व्यवस्थापक संस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङको विशेष आतिथ्यता रहेको थियो । राइनास नगरपालिका वडा नं ६ का वडाअध्यक्ष गोविन्द चिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

शिविर अवधीमा सहभागीहरुलाई योग, ध्यान, प्राणायमको विषयमा पतञ्जली योग पिठ नेपालका केन्द्रीय अध्यक्ष लवदेव मिश्रले जानकारी गराउनुहुने कार्यक्रमका सञ्चालक एवं सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।
शिविरको पहिलो दिन सोमबार झण्डै ८ सय जना हाराहारीमा योग शिविरमा सहभागी भएका राइनास नगरपालिकाका कार्यपालिका सदस्य सोचना लौडारीले बताउनुभयो ।

उहाँका अनुसार योग शिविरमा बालबालिका, युवायुवतीका साथै वृद्धवृद्धाहरुको पनि सहभागिता रहेको थियो । शिविर हरेक दिन बिहान ५ : ३० बजेदेखी ७ : ३० बजेसम्म सञ्चालन हुनेछ । योग शिविरमा उपस्थित हुन सबैमा आयुर्वेद शाखा, राइनास नगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस