२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

भोटेओडारमा तीज गीत प्रतियोगिता सञ्चालन : नौबिसे आमा समूह प्रथम

  • २०८० आश्विन १, सोमबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका भोटेओडारस्थित कृष्ण बगैँचामा खुला तीज गीत प्रतियोगिता आयोजना गरिएको छ । हातेमालो मूल आमा समूहको आयोजनामा सोमबार तीज गीत प्रतियोगिता आयोजना गरिएको हो ।

    हातेमालो मूल आमा समूहका अध्यक्ष मनु पन्त खत्रीको अध्यक्षता एवं नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


    प्रतियोगितामा १० समूह सहभागि थिए । प्रतियोगितामा नौबिसे आमा समूह प्रथम, तीन धारे आमा समूह बेसीशहर द्धितीया, बाइसजाँगर आमा समूह तृतीया र धारापानी आमा समूह सान्त्वना भएको हातेमालो मूल आमा समूहले जनाएको छ ।यसैगरी, प्रतियोगितामा भविष्य निर्माण माविमा अध्ययनरत विद्यार्थी आकृति गुरुङ उत्कृष्ट नृत्यकारको रुपमा पुरस्कृत हुनुभएको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, प्रमाणपत्र, द्धितीया हुनेलाई नगद १० हजार, प्रमाणपत्र, तृतीया हुनेलाई नगद ५ हजार, प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट नृत्यकारलाई नगद एक हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

    मौलिक संस्कृति संरक्षणका लागि तीज गीत प्रतियोगिता सञ्चालन गरिएको हातेमालो मूल आमा समूहका अध्यक्ष मनु पन्त खत्रीले बताउनुभयो ।
    उहाँका अनुुसार प्रतियोगिताको सम्पूर्ण पुरस्कारकोे प्रायोजन राजशान्ति फाउण्डेसन र भोटेओडार निवासी हाल अमेरिकामा रहनुभएका सुजन लामाले गर्नुभएको हो । यस्तै, प्रतियोयगताको प्रथम पुरस्कारको प्रायोजन सुन्दरबजार नगरपालिका वडा नं ९, भोटेओडार तार्दी खोला खानेपानी आयोजना, फ्युचर स्टार आवासीय माविले गरेको हो ।

    सुन्दरबजार नगरपालिका ८ र ९ का २० वटा आमा समूह यस हातेमालो मूल आमा समूहमा आवद्ध छन् । यस आमा समहूले सामाजिक सेवाका साथै सचेतनामुलक कार्यहरु गर्दै आएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको साथै दर्शक–श्रोताको उलेख्य उपस्थिती रहेको थियो । कार्यक्रमकै अवसरमा लोक दोहोरी गायिका सूर्यकुमारी गुरुङ, विष्णुमाया गुरुङ, अनुज अधिकारी, विवेक धिताल लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस