
म्याग्दी – पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँस्थित भर्जुला गाउँमा यसवर्ष भदौ महिनामै सुन्तला पाकेको छ । भर्जुलाका स्थानीय बमबहादुर शेरपुञ्जाले आफ्नो बारीमा लगाएको जापानीज प्रजातिको ‘मेगावासे’ सुन्तला पाकेको हो ।
शेरपुञ्जाको बारीमा लटरम्मै फलेका सुन्तला पहेँलपुर भएर पाकेपछि अहिले बिक्रीको तयारी शुरु भएको छ । सुन्तला उत्पादनका लागि भर्जुला उपयुक्त हावापानी भएको क्षेत्रको रुपमा चिनिन्छ । कृषक शेरपुञ्जाले बारीमा लगाएका २५ बोटमा फलेको सुन्तला पाकेपछि बिक्री गर्ने तयारी थालेको जानकारी दिनुभयो । बेमौसममा फलेका कारण सुन्तला बिक्रीका लागि बजारको अभाव नभएको बताउँदै कृषक शेरपुञ्जाले परीक्षणको रुपमा लगाएको सुन्तलाले व्यावसायिक उत्पादन दिएको बताउनुभयो ।
मेगावासे सुन्तला : दाना ठूला र स्वादिलो
उहाँले प्रतिकेजी दुई सय ५० रुपैयाँसम्म बिक्री हुने मेगावासे जातका सुन्तलाको दाना ठूला र निकै स्वादिलो हुने भएकाले गाउँमा पहिलोपटक उत्पादन भएको सुन्तला घरायसी प्रयोजन र आफन्तलाई कोसेलीसमेत दिने गरेको बताउनुभयो । कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गर्नुभएको छ । साउन महिनाको अन्तिम हप्तादेखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
मौसमी र बेमौसमी सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउने योजना रहेको बताउँदै कृषक शेरपुञ्जाले असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु र जापानीज मेगावासे प्रजातिको सुन्तलालेसमेत उत्पादन दिएको बताउनुभयो । कलमी गरेर थप सुन्तलाको बिरुवा गाउँभरी विस्तार गर्ने कृषक शेरपुञ्जाको योजना छ ।
स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका शेरपुञ्जाले आधुनिक कृषि पेशा अपनाएको स्थानीय बालोदय आधारभूत विद्यालयका शिक्षक मनकुमार जुग्जालीले बताउनुभयो । वडा भित्र व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका कृषकलाई प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस