२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

लमजुङ कांग्रेसले यसरी मनायो बिपी जयन्ती एवं तीज विशेष कार्यक्रम (तस्विरसहित)

  • २०८० भाद्र २४, आईतबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित सिर्जनशील तमु समाजको भवनमा ‘बिपी जयन्ती एवं तीज विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङको आयोजनामा कांग्रेसका संस्थापक बिपी कोइरालाको १ सय १० औँ जयन्मजयन्तीका साथै नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आइतबार ‘बिपी जयन्ती एवं तीज विशेष कार्यक्रम’ सञ्चालन गरिएको हो ।


    नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय मुलुकमा प्राप्त उपलब्धीहरुलाई उल्टाउन केही तत्वहरु लागि परेको बताउनुभएको छ । ‘मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता र समानुपातिक प्रणाली मन नपराउनेहरु सल्बलाउन थालेका छन् । संविधानबाट प्राप्त उपलब्धीहरु उल्टाउने, भत्काउने प्रयत्न भइरहेका छन् । समाजमा अराजकता प्रवृत्ति फैलदो छ । त्यसका विरुद्ध सबै एकजुट भएर लड्न जरुरी छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

    कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका पाण्डेले कांग्रेसका संस्थापक नेता बिपी कोइराला राजनीतिक क्षेत्रमा मात्र नभइ साहित्यिक क्षेत्रमा पनि उच्चो स्थानमा रहनुभएको बताउनुभयो । महामानव बिपीले देखाएको मार्गमा हामी सबै हिँड्नु जरुरी रहेको उहाँले बताउनुभयो । लमजुङको विकासमा आफुले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले बिपी समग्रमा एउटा विश्वविद्यालय रहेको बताउनुभयो । बिपी राजनीतिका साथै साहित्य, अर्थ, दर्शन लगायत हरेक विधामा अब्बल व्यक्तित्व रहेको स्मरण गर्नुभयो ।

    नेपाली कांग्रेस लमजुङका उप–सभापति आनन्द घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस, गण्डकी प्रदेशका सह–महामन्त्री रमेशकुमार पाण्डे, नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं संविधान सभा सदस्य चन्द्रबहादुर कुवँर, नेपाल महिला संघ, लमजुङकी सभापति ज्ञानु शाह, नेपाल मुश्लिम संघ लमजुङका सभापति सहेदिन मिया लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।


    कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, नगर स्तरका नेता, निर्वाचित जनप्रतिनिधका साथै कांग्रेसका विभिन्न भातृ संगठनका प्रमुख, प्रतिनिधि एवं कार्यकर्ताहरुको उलेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङका सचिव बिमल श्रेष्ठ र पार्टी प्रवक्ता गणेश गौलीले गर्नुभएको हो । कार्यक्रमकै अवसरमा कांग्रेसमा आवद्ध महिलाहरुले तीज गीतमा नाचगान समेत गरेका थिए ।

     

    बिपी कोइराला : राजनीतिसंगै साहित्यमा पनि महत्वपूर्ण योगदान
    जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

    भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिनुभयो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

    क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बन्नुभयो । २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएको थियो ।

    आफ्नो कार्यकालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्त्वपूर्ण कार्यक्रम घोषणा गर्नु भएको थियो । २०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

    २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्किनु भएको थियो ।

    उहाँले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । कोइरालाले नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । १९७१ साल भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस