
लमजुङ–नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले कर्मचारी स्थायी सरकार भएकाले प्रभावकारी रुपमा इमान्दारीताका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । नेपाल निजामति कर्मचारी युनियन लमजुङद्धारा सर्वोदय आश्रममा मंगलबार आयोजित खाद्यान्न तथा फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुलुकमा देखिएका समस्यालाई समाधान गर्दै मुलुकको समग्र विकासका लागि राजनीतिक दल र कर्मचारीबीच आपसी सहकार्य हुनु जरुरी रहेकोे उहाँले उल्लेख गर्नुभयो । ‘सेवा–सुविधा र अवसरको खोजी गर्दै विदेशिने र गाउँबाट शहर पस्नेहरुको जमात बढ्दो छ । कर्मचारी देशको स्थायी सरकार हो । कर्मचारीहरुले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकेमा यस समस्यालाई निराकरण गर्न सकिन्छ । क्षमतावान युवाशक्तिलाई देशमै बस्ने वातावरण सिर्जना गर्न सकिन्छ,’ डाक्टर गुरुङले थप्नुभयो, ‘मुलुकमा देखिएका समस्यालाई निराकरण गरी समग्र मुलुकको विकास र समुन्नतीका लागि राजनीतिक दल र कर्मचारीबीच सहकार्य हुनु जरुरी छ ।’
अर्को प्रसंगमा डाक्टर गुरुङले मुलुकमा भएका कुनै पनि आन्दोलन, परिवर्तन कांग्रेसको नेतृत्व बिना नभएको भन्दै छुट्टै इतिहास बोकेको पार्टी नेपाली कांग्रेस रहेको उहाँले उल्लेख गर्नुभयो ।
‘कुनै पनि आन्दोलन, उपलब्धी, परिवर्तन, कांग्रेसको नेतृत्व बिना भएको छैन । कांग्रेसलाई जनताको पार्टी बनाउन, मुलुकको विकास निर्माणको अग्रणी मोर्चामा निरन्तर नेतृत्व दिन सक्ने पार्टी बनाउन पार्टी निकट धेरै शुभेच्छुक संस्थाहरुले अतुलनीय योगदान पुर्याउनुभएको छ । त्यसमा कांग्रेस गौरव गर्दछ । योगदानप्रति उच्च प्रशंसा गर्दछ,’ डाक्टर गुरुङले भन्नुभयो । सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक एवं परोपकारी कार्यहरुमा निरन्तर अग्रसर भइरहन उहाँले कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस