
लमजुङ–नेपाल निजामति कर्मचारी युनियन लमजुङले वृद्धाआश्रमलाई सहयोग प्रदान गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामति कर्मचारी युनियन लमजुङले मंगलबार लमजुङ राइनास नगरपालिका–८ हर्राबोटस्थित सर्वोदय सेवाआश्रमलाई सहयोगस्वरुप खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।
नेपाल निजामति कर्मचारी युनियन लमजुङका सभापति विष्णुहरि न्यौपानेको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर गुरुङले कर्मचारी स्थायी सरकार भएकाले प्रभावकारी रुपमा इमान्दारीताका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
राष्ट्रसेवासंगै आफ्नो स्थापना दिवसको अवसरमा आश्रममा आइ सहयोग प्रदान गरी सामाजिक सेवाका क्षेत्रमा पनि अग्रसर भई राम्रो सन्देश प्रवाह गरेकोमा नेपाल निजामति कर्मचारी युनियन लमजुङको सिंगो टिमप्रति डाक्टर गुरुङले कृतज्ञता व्यक्त गर्नुभएको छ । सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक एवं परोपकारी काममा पनि निरन्तर अग्रसर भइरहन उहाँले कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल निजामति कर्मचारी युनियन राइनास नगरपालिकाका सभापति कृष्ण रानाभाटले स्वागत गर्नुृभएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य मदन रेग्मीले प्रकाश पार्नुभएको होे ।
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, कार्यालय प्रमुखका तर्फबाट कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडा, नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँ, राइनास नगरपालिकाका पार्टी सभापति श्रीकृष्ण पौडेल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन गण्डकी प्रदेशकी उपाध्यक्ष सीता गैह्रे, कर्मचारी युनियनका केन्द्रीय प्रतिनिधि घनबहादुर कुताल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डाक्टर रुपेश श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ लमजुङ–मनाङका प्रमुख अजय अधिकारी, सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलिया, मध्यनेपाल नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल निजामति कर्मचारी युनियन लमजुङका सचिव सुशिल नरालले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस