२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

लमजुङको सिउँडीबार, भोटेओडार क्षेत्रमा लाखे नाच प्रदर्शन : दर्शकको घुइँचो (फोटो-फिचर)

  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ–नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ । मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय होमिएका छन् । जनपूर्णिमा दिन लमजुङका विभिन्न ठाउँमा नेवार समुदायले लाखे नाच प्रदर्शन गरेका छन् ।


    लमजुङको सुन्दरबजार नगरपालिका ९ मा रहेको सिउँडीबार नेवा गुठी खल : ले सिउँडीबार बजार चोकमा लाखे नाच प्रदर्शन गरेको अध्यक्ष सुरजकुमार श्रेष्ठले बताउनुभयो । यस्तै, भोटेओडार नेवा खल : भोटेओडारले पनि कृष्णबगैँचा, तल्लो बजार बालुने, सिउँडीबार लगायतका क्षेत्रमा लाखे नाच देखाइएको अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताउनुभयो । लमजुङको राइनास नगरपालिका ८ मा रहेको नेवार समुदाय उत्थान समितिले हर्राबोट क्षेत्रमा लाखे नाच प्रदर्शन गरेको छ । लाखे नाच देखाइएको ठाउँमा लाखे नाच हेर्ने दर्शकको घुइँचो लागेको छ ।


    लाखे नाचको आफ्नै धार्मिक एवं सांस्कृतिक महत्व छ । तीथि अनुसार मनाइने लाखे नाच हरेक वर्ष नाग पञ्चमीबाट सुरु भई तीज पञ्चमीमा अन्त्य गरिने र सो अवधीमा पर्ने जनैपूर्णिमा, कृष्णअष्टमी र कुशे औँसी लगायतका पर्वमा पनि विशेष रुपमा लाखे नाच देखाइने परम्परा रहेको जानकारहरु बताउँछन् । पछिल्लो समय लाखे नाच लगायका मौलिक संस्कृति संरक्षणमा पाको पुस्तालाई लमजुङका युवाहरुको पनि साथ, सहयोग मिलेको छ । लमजुङे युवाहरु मौलिक संस्कृति संरक्षणमा प्रत्यक्ष रुपमा जुटिरहेका छन् ।


    पछिल्ला बीचका केही वर्ष लाखे नाच हराएकोजस्तो आभाष भएतापनि पुन : यसलाई ब्युँताउन नेवार समुदाय जुटेकामा संस्कृतिप्रेमीहरुले खुशी व्यक्त गरेका छन् । पछिल्लो समय आफ्नै गाउँठाउँमा लाखे नाच हेर्न पाउँदा लमजुङवासी निकै हर्षित छन् ।

    संस्कृतिप्रेमीका अनुसार देशको गौरव र पहिचानसंग जोडिएका यस्ता हाम्रा सम्पूर्ण मौलिक कला, परम्परा, संस्कृतिलाई हराउनबाट जोगाउन पाको पुस्ताले नयाँ पुस्तालाई सीप, संस्कृति हस्तान्तरण गर्न र नयाँ पुस्ताले पनि यसप्रति उतिक्कै ध्यान दिनु जरुरी छ । यसो हुन सकेमा मात्रै हाम्रा संस्कृति जोगाउन र यसका मौलिकता बचाइराख्न सकिन्छ ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस