२०८३ अषाढ ३२, बिहिबार | Thu, 16, Jul, 2026

हिमालको काखमै लमजुङको दूधपोखरी कुण्ड : दूधपोखरी पुग्न कठिन तर पुगेपछि स्वर्गकै अनुभूति !

  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित २ साल अघि
  • लमजुङ-लमजुङको सुदूरपूर्वमा पर्ने दूधपोखरी कुण्ड धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध छ । जनैपूर्णिमाको अवसरमा यस कुण्डमा नुहाउन आउनेहरुको भीड नै लाग्ने गर्दछ । प्रत्येक जनैपूर्णिमामा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दछ । जनैपूर्णिमाको दिन यस पोखरीमा नुहाए वर्षौदेखीको रोगव्याधी निको हुने, बोली नआउनेहरु बोल्न थाल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

    दूधपोखरी पुग्न कठिन यात्रा
    त्यसो त दूधपोखरी कुण्ड पुग्न भने त्यति सजिलो छैन । हिमालको काखैमा रहेको दूधपोखरी पुग्न तीन–चार दिनको कठिन यात्रा गर्नुपर्ने हुन्छ । लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने दूधपोखरी कुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखैमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनै पूर्णिमामा भक्तजनहरुको ठूलो घुइँचो नै लाग्ने गर्दछ ।

    सर्वोदय सेवा आश्रम लमजुङका संस्थापक अध्यक्ष कृष्णराज ओलियाका अनुसार लमजुङका साथै गोरखा, तनहूँ, कास्की, चितवन, काठमाडौँ लगायतका ठाउँंदेखि तीर्थालु भक्तजनहरु यस पोखरीमा बर्सेनी नुहाउन आउने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जानु नपर्ने विश्वास रहेको बुढापाकाहरु बताउँछन् ।

    यात्रा रमाइलो
    त्यस ठाउँमा पुग्न तीर्थयात्रीहरुलाई सामान्य बाटोको आकार पत्ता लगाउँदै हिँड्नुपर्ने बाध्यता छ । बाटो हिँड्नको लागि निकै अफ्ठ्यारो छ । त्यसैले दूधपोखरी जाँदा अनुभवी तीर्थयात्री अथवा स्थानीय बासिन्दाको सहयोग आवश्यक हुन्छ । कहालीलाग्दो भीर–जंगल–खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने हुँदा केही असजिलो भए पनि यात्रा भने निकै रमाइलो हुने त्यहाँ पुगेर फर्कनेहरु बताउँछन् ।

    बासका लागि ओढार र भेडीगोठको भर
    दूधपोखरी कुण्ड जाँदै गर्दा बाटोमा भेटिने\देखिने लेकाली फूलको सौन्दर्यले जो सुकैको मन लोभ्याउँछ । विभिन्न चराचुरुङ्गीको चिरबिराहट मधूर संगीतले आनन्दित तुल्याउँछ । यात्राका क्रममा पर्याप्त खानेकुरा र खानेपानीको व्यवस्था तीर्थयात्री आफैँले गर्नुपर्छ । दूधपोखरीको यात्रामा सुरक्षित बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठको सहारा लिनुपर्दछ ।

    दूधपोखरी पुग्न ४–५ घण्टाको दूरी बाँकी रहँदा ठाउँ–ठाउँमा परम्परागत भेडीगोठहरु देख्न सकिन्छ । तीर्थयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले दिल खोलेरै सहयोग गर्छन् । गोठमा दूधका विभिन्न परिकारहरु पाइन्छन् ।

    लेक लाग्ने समस्या
    भेडीगोठबाट झण्डै ४ घण्टा हिँडेपछि दूधपोखरी कुण्ड आउँछ । हिमालको काखमा रहेको हुनाले यहाँ निकै जाडो हुन्छ । पोखरीमा नुहाएर पूजा–अर्चना गरी प्रार्थना गर्दा तीर्थयात्रीहरुको मन धेरै हल्का भएको महशुस गर्छन् । दूधपोखरी धेरै उचाइमा रहेकाले त्यस ठाउँमा लेक लाग्ने समस्या पनि त्यतिकै हुने ओलिया बताउनुहुन्छ ।

    उहाँका अनुसार लमजुङ र गोरखाको सीमानामा पर्ने चेपे नदीको मुहान दूधपोखरी कुण्डमा वैशाखदेखी असोजसम्म जान सकिन्छ । चिसो समयमा हिउँ पर्ने भएका कारण यहाँ जान सकिदैँन ।

    संरक्षणको खाँचो
    ‘प्राकृतिक, धार्मिक रुपले धनी दूधपोखरी कुण्डमा वैशाखदेखी असोजसम्म पर्यटक लैजान सके धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ,’ उहाँ भन्नुहुन्छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी कुण्डको संरक्षण–सम्बद्र्धन र प्रचारप्रसार हुन सकेको खण्डमा सिंगो लमजुङकै पर्यटकीय एवम् आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस