२०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

सामाजिक सेवाका क्षेत्रमा जुट्दै राज–शान्ति फाउण्डेसन : ‘शैक्षिक छात्रवृत्ति कोष’ स्थापना

  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडार घर भइ हाल बेलायतमा कार्यरत राजकुमार सुनार (राजु)ले ‘राज–शान्ति शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्नुभएको छ । जेष्ठ नागरिक समाज भोटेओडारको समन्वयमा राजकुमार सुनार र श्रीमति शान्ति सुनारले आफ्नो ‘राज–शान्ति फाण्डेसन’बाट यस शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको होे ।

    आर्थिक अवस्था कमजोर हुनुका साथै अपांगता भएका बालबालिकाको पठन–पाठनमा सघाउ पुर्याउने उद्धेश्यले ‘शैक्षिक छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको र यसबाट अपांगता भएका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइने राजकुमार सुनारले उल्लेख गर्नुभयो ।

    ‘राजशान्ति फाउण्डेशन’ले विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ । ‘राजशान्ति फाउण्डेसन’ले यस अक्षयकोषका लागि पचास हजार रुपैयाँ जेष्ठ नागरिक समाज भोटेओडारलाई उपलब्ध गराइसकेको ज्येष्ठ नागरिक समाज भोेटेओडारका सल्लाहकार एवं शिक्षाप्रेमी गोविन्दबहादुर कुवँरले जानकारी दिनुभयो । ‘राजशान्ति शैक्षिक छात्रवृत्ति’ अक्षयकोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष एक जना अपांगता भएका बालबालिकालाई मासिक पाँच सय रुपैयाँ (वार्षिक ६ हजार रुपैयाँ) शैक्षिक छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।

    यसैगरी, अपांगता तथा विपन्न वर्गका बालबालिकलाई सहयोग गर्ने यस अभियानमा अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाले पनि शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको समाजका सल्लाहकार कुवँरले बताउनुभयो । उहाँका अनुसार हालसम्म एक लाख पचास हजार रुपैयाँ बराबरको अक्षयकोेष स्थापना भइसकेको छ ।

    रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीले २५ हजार रुपैयाँ, लमजुङ अलैचेँ घर भइ हाल युकेमा रहनुभएकी कल्पना कुवँरले २५ हजार रुपैयाँको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको र अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाले पनि अक्षयकोष स्थापना गर्नुभएको समाजले जनाएको छ । समाजका अनुसार यस अक्षयकोषबाट पनि अन्य चार जना अपांगता भएका बालबालिकालाई वार्षिक शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑