२०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

जनै पूर्णिमा : क्वाँटी खाने प्रचलन, क्वाँटी स्वास्थ्यका लागि फाइदाजनक

  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, केराउ, मस्याङ, चना, सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ ।
    यसरी मिसाइएको गेडागुडी मिसाएर टुसा उमारेर क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
    वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषिलो खानेकुरा हो ।
    टुसा उम्रेको गेडागुडीमा भिटामिन सी र रेसा हुन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन र पाचन प्रणाली राम्रो गराउन सहयोग पुग्ने पोषणविद् समीक्षा कार्कीले बताउनुभयो ।
    यसले कब्जियत हटाउन, उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रण, शारीरिक र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस