
लमजुङ-लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन गरिएको छ । हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले मंगलबार जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गरेको हो । ‘कृषि तीज गीत प्रतियोगिता’ बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको हो ।
गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यका जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गरिएको कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले उल्लेख गर्नुभयो ।
‘गीतकोे माध्यमबाट नवीनतम कृषि प्रविधि, कृषिका सम्भावना, अवसर लगायत कृषिसंग सम्वन्धित विविध पक्षका विषयमा समुदायमा सचेतना फैलाउने हेतुका साथ प्रतियोगिता सञ्चालन गरिएको हो,’ प्रमुख खतिवडाले भन्नुभयो । प्रतियोगितामा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृृषक समूह वा कृषि सहकारी संस्था, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह, सहकारी गरी पाँच वटा समूह सहभागी थिए ।
कृषि ज्ञान केन्द्रका प्रमुख खतिवडाका अनुसार प्रतियोगितामा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ । यस्तै, प्रतियोगितामा मध्यनेपाल नगरपालिका–६ मा रहेको एकीकृत कृषक सहकारी संस्था लिमिटेड द्धितीया भएको छ भने सुन्दरबजार नगरपालिका–७ मा रहेको मजुवा मिश्रित कृषक समूह तृतीया भएको छ । प्रतियोगितामा प्रथम, द्धितीया र तृतीया हुन सफल टिमलाई पुरस्कारस्वरुप क्रमश : नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ प्रदान गरिएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख खतिवडाको अध्यक्षता एवं जिल्ला समन्वय समिति, लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रतियोगिताको निर्णायक मण्डलमा कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मी, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी रहनुभएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस