२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

नेपाली कांग्रेसले भदौ अन्तिम हप्ता ‘बिपी साहित्य महोत्सव’ आयोजना गर्ने

  • २०८० भाद्र ११, सोमबार मा प्रकाशित ३ साल अघि
  • नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदौ अन्तिम हप्ता ‘बीपी साहित्य महोत्सव २०८०’ गर्ने भएको छ ।
    कांग्रेसले भदौ २४ गते परेको बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर ‘बीपी साहित्य महोत्सव २०८०’ गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरको सानेपामा महोत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
    महोत्सवमा मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता, साहित्यमा पर्यावरण, समय र सबार्ल्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् ।
    महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुने उहाँको भनाइ छ ।
    कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्व, बुद्धिजीवी, अध्येता तथा राजनीतिका साथै लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ ।
    कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवम् सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस