२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

बिहे भनेको प्रेमको अन्त्येष्टि हो : डा. योगी विकाशानन्द

  • २०८० भाद्र ११, सोमबार मा प्रकाशित ३ साल अघि
  • मनोक्रान्ति प्रवर्तक हुनुहुन्छ, डा. योगी विकाशानन्द । योग, ध्यान, अध्यात्म र प्रेमका विषयमा केन्द्रीत रही ‘समुन्नती अनलाइन डट कम’का सम्पादक श्यामशितल परियारले डा. योगी विकाशानन्दसंग संक्षिप्त कुराकानी गर्नुभएको छ ।

    नमस्कार । कुराकानीमा यहाँलाई स्वागत छ ।
    धन्यवाद ।
    आराम हुनुहुन्छ ?

    अद्भूत् छु । (लामो हाँसो…)

    यहाँको हाँसो बडो लोभलाग्दो छ है ?

    हजुर । लोभ लगाउनु हुँदैन, हाँसिहाल्ने । (हाँसो…)

    मान्छे कुनै न कुनै रुपमा मनमा पीर, व्यथा, दुःख–पीडा बोकेर बाँचिरहेका छन् । आखिर मान्छे दुःखी हुनुका कारण के रहेछ ?

    धेरै लोभ, धेरै इच्छा । अनियन्त्रित इच्छा जब बढदै जान्छ, त्यति नै दुःख नि बढ्दै जान्छ । त्यसकारण दुःखबाट मुक्त हुनुछ भने लोभबाट मुक्त हुनुपर्छ ।

    दुःख–पीडा, तनाव भुलेर हाँसीखुशी साथ जिन्दगी कसरी जिउन सकिएला त ?

    बिहान उठ्नासाथ योग गर्ने । ध्यान गर्ने । प्राणायम गर्ने । यसले तपाईँलाई भित्रबाट ऊर्जा थप्छ । ‘केमिकल चेञ्ज’ गराउँछ र तृप्तिको अनुभूति दिन्छ । जब मन तृप्त हुन्छ । तृप्त मनले नचाहिने कुरा खोज्दैन । किनकी तृप्ति भनेकै अब मलाई केही चाहिँदैन भनेको हो । (हाँसो…)

    पछिल्लो समय योग र अध्यात्मबारे खुबै चर्चा हुने गर्छ । योग र अध्यात्मलाई अर्थ्याइदिनुस् न ।

    अध्यात्म भनेको एउटा ठूलो विषय भयो । यो अध्यात्मभित्र थुपै आध्यात्मिक यात्रा गर्ने माध्यममध्ये एउटा हो, योग साधना । जुन हामी योग आसन भनेर अहिले चिनिरहेका छौँ । त्यो योगको एउटा सानो ‘पार्ट’ मात्रै हो । त्यसपछि, प्राणायम, ध्यान, मुद्रा, प्रार्थनाका कुरा हुन्छन् । यी सबै कुरा अध्यात्मको शाखा प्रशाखा हुन् । यसरी बुझौँ ।

    योग र ध्यानको विषयमा जानकारी गराउन यहाँ देश–विदेशका विभिन्न ठाउँमा पुगिरहनुहुन्छ । मानव जीवनमा योग र ध्यानको आवश्यकता किन छ ?

    पहिलो कुरा त मान्छेलाई यो आधुनिक समाज, आधुनिक संस्कृतिले स्वस्थ बनाउन सकिरहेको छैन, शारीरिक रुपमा । किनकी नसर्ने रोगबाट मान्छे मुक्त भइरहेको छैन । मानसिक रुपमा कुरा गर्ने हो भने मान्छे आफैचाहिँ दुःखी छ ।

    पीडित छ । सन्तुष्ट छैन । यो मानसिक समस्या छ । अनि सामाजिक समस्याको कुरा गर्ने हो भने परिवारभित्रै एकआपसमा सौहार्दतापूर्ण सम्बन्ध बिग्रँदै गएको अवस्था छ । यो सबै कुरालाई सम्बोधन गर्ने माध्यम योग, ध्यान, प्राणायम आध्यात्मिकता नै हो ।

    त्यसकारण आधुनिक समयमा मानिसको अभाव भनेकै स्वास्थ्य, शान्ति, आनन्द हो । यी सबै कुरालाई फेरि जोड्ने चिजचाहिँ योगले नै गर्छ । ध्यानले गर्छ ।

    प्रगति गर्न सकिएन, भएन भनेर मनमा निराशा पाल्नेहरु प्रशस्तै भेटिन्छन् । साच्चै जीवनमा प्रगति कसरी हासिल गर्न सकिन्छ ?

    प्रगतिले सुखी हुने हो प्रगति गरेका थुप्रै मान्छे छन् । उनीहरु पनि दुःखी छन् भिखारीले मात्र कमाइरहने, मागिरहने हैन । विनोद चौधरी यो देशका सबैभन्दा धनी मान्छे । उस्ले पनि कमाइरहेको छ नि । कसलाई पुगेको छ र । (हाँसो…)

    कमाएर खुशी हुने हो भने त कमाइसकेकाहरु खुशी हुनुपर्ने । त्यसकारण प्रगतिबाट मानिस खुशी हुँदैन । प्रगतिबाट भौतिक उन्नति हुन्छ । मानसिक शान्ति, आनन्द जस्ता कुरा प्राप्ति हुँदैन भन्ने कुरा बुझ्नुपर्छ ।

    प्रगति कसरी गर्ने ? भन्ने जुन यहाँको प्रश्न छ । यहाँ हामीले दुई कुरा ‘सिरियस्ली’ बुझ्न सकिन्छ ।

    मैले मनले खाएको मेरो विषयलाई मैले व्यवसाय बनाउन सक्नुपर्छ । ‘प्यासन’ र ‘प्रोफेसन’ एउटै हुनुपर्यो । त्यसरी एउटै भइसकेपछि प्रगति गर्दा पनि, नगर्दा पनि उ खुशी हुन्छ ।

    किनकी उसलाई आफ्नो प्यासनमा काम गर्दा आनन्द आउँछ । त्यसैले हामीले ‘गोल ओरियण्टेड’ होइन कि ‘प्रोसेस ओरियण्टेड’ काम गर्नुपर्छ । कुनै दिन म लक्ष्य हासिल गरौँला, खुशी होउँला । यो ‘गोल ओरियण्टेड’ भयो ।

    ‘प्रोसेस ओरियण्टेड’ भनेको, होइन कुनै दिन छोडौँ अहिलेबाट यो काम गर्दा मलाई आनन्द आउँछ । यो बाटोबाट हिँड्दा मलाई आनन्द आउँछ, पुग्न नपग्नु बेग्लै कुरा । हिँड्नुमा आनन्द लिनुपर्छ ।

    जब हाम्रो मानसिकता ‘प्रोसेस ओरियण्टेड’ हुन्छ नि तब मात्रै मान्छे खुशी रहन्छ । प्रगति पनि गर्छ ।

    चित्रकलामा औधी रुची भएको मान्छे । व्यावसायिक चित्रकलाबाटै राम्रो नाम, दाम कमाएको मान्छे । पछि फेरि योग, ध्यान अध्यात्मतिर तानिनुभयो, किन ?

    कब्जियत । कब्जियत । मलाई रोग लागेको थ्यो बीचमा । मलाई कब्जियत नभएको भए म कलाकार नै बन्थे । कब्जियत भइसकेपछि डा. कहाँ जाने हो । औषधि, अस्पताल खोज्ने हो । उनीहरुले निको नपारेपछि वैकल्पिक कुरा खोज्दै जाँदा योगमा ठोक्किएँ ।

    योगमा प्राणायम, ध्यान गर्दै जाँदा मेरो रुपान्तरण भयो । मैले नाम–दाम कमाएको थिएँ, त्यो बेला पनि पेन्टिङको माध्यमबाट । त्योभन्दा कयौँ गुना ज्ञान, आनन्दी, शान्ति त योग, ध्यानमा छ । त्यो कुरा बुझिसेकपछि यतातिर लागेँ । ठूलो कुरा प्राप्त गरेपछि सानो कुरा आफै छुटेर जाने कुरा हो ।

    अब प्रसंग बदलौँ, प्रेमलाई कसरी बुझ्नुहुन्छ ?

    जीवनमा हामीले जसलाई प्रेम भनिरहेका छौँ । त्यो प्रेम नभइकन प्रेमको विकृति भयो । त्यसलाई ‘कण्डिसनल् लभ’ भनिन्छ । जस्तै, आमाबाबाले छोराछोरीलाई, श्रीमती, श्रीमान्लाई हामी प्यार गर्छौ नि, माया भन्छौ नि । यसलाई माया भनिदैन, मोह भनिन्छ । मोहले नहुँदा नि दुःख हुने भो । माया नपाउँदा पनि । माया पाउँदा पनि पुगेन भन्ने गुनासो हुने भो ।

    अब कति दिने ? त्यसकारण यो प्रेम होइन, यो मोह हो । प्रेमको नाउँबाट हामीले मोहलाई उठाएर ल्याएर बसेका छौँ । र मोहले त दुःख दिन्छ ।

    मैले भनिसकेँ, यदि माया पाइएन भनेपनि दुःखी हुने भो । पाए पनि कम भयो भनेर दुःखी हुने भो । अझ तुलना गर्छ, उसले । पहिलाजस्तो माया गरेन, फलानोलाई जस्तो माया गरेन भनेर उ खाली तुलना मात्रै गरेर बस्छ । अनि माया दिँदा तुलना गरेर सानो पारिदिने, नदिँदा दिएन भनेर दुःखी हुने ।

    जीवनको केन्द्रविन्दु नै माया हो, प्रेम हो । तर यो केन्द्रविन्दु ‘अनकण्डिसनल लभ’ हुनुपर्यो । त्यो भनेको मलाई प्रेम गर्नुमा आनन्द आउनुपर्यो । उसले दुःख दिओस् या सुख । मैले भनेको मानोस् या नमानोस् । जे गरुन् त्यो उसको मर्जीको कुरा । तर प्रेम गर्नुमा आनन्द आउनुपर्यो । यस्तो आनन्द आउने प्रेमलाई ‘अनकण्डिसनल लभ’ भनिन्छ ।

    यो लभ जीवनको प्राण हो । यो लभ ‘हिलिङ’ पनि हो ।

    फेरि यो ‘दे दे प्यार दे’ भनेर माग्ने चीज होइन । यो दिने चिज हो । तपाईँले दिएपछि त्यो फर्किन्छ आफै । फर्किएन भने ठिकै छ । यसरी ‘प्रेमलाई अनकण्डिसनल’ बनायो भने त्यो जीवनको लागि सबैभन्दा मिठो र सार्थक बन्न जान्छ ।

    अन्त्यमा, एकअर्काको प्रेममा रहेका प्रेमी र प्रेमिकाबीच बिहे भएमा त्यसलाई सफल र कारणवश प्रेममा बिहे भएन भने त्यसलाई असफल प्रेम भनेर बुझ्ने, प्रायः आम बुझाइ छ । के बिहेसम्म पुग्ने प्रेमलाई मात्रै सफल प्रेम मान्ने ? के प्रेम बिहेसम्मै पुग्नै पर्ने हो र ?

    बिहे गर्यो भने प्रेम सकियो भनेर बुझ्ने हो । बिहे भनेको प्रेमको अन्त्येष्टि हो ।

    (हाँसो…)

    किनकी जहाँ नियम हुन्छ,त्यहाँ प्रेम हुँदैन । जहाँ प्रेम हुृन्छ, त्यहाँ नियम हुँदैन । बिहे गर्नुअघि नियम हुँदैन नि, त्यसकारण बडो मस्ती हुन्छ । बिहे गरिसकेपछि नियम मात्र हुन्छ, प्रेम मरिसकेको हुन्छ ।

    संसारभरिकै कहानी पल्टाउने हो भने, ‘रोमियो जुलियट’ ‘मुनामदन’, ‘लैला मज्नु’ जस्ता अमर प्रेम कहानी छन् । ती प्रेम कहानी किन अमर प्रेम कहानी भए तपाईँलाई थाहा छ ? किनकी उनीहरु सबै मरेर गइसके ।

    बिहे भनेको प्रेमको अन्त्येष्टि हो, हाम्रो समाजमा ।
    (लामो हाँसो…)

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस