२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

‘मनमोहक’ लमजुङको धार्मिक एवं ऐतिहासिक महत्वको अन्नपूर्ण स्थान मन्दिर !(फोटो–फिचर)

  • २०८० भाद्र १, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • समिता अधिकारी पौडेल ।
    लमजुङ–वरिपरि हरियाली गगटेफाँट । फाँट बीचैमा केही उच्चो ठाउँ । त्यही ठाउँमा पर्छ, लमजुङ सुन्दरबजार नगरपालिका–६ अन्नपूर्ण टोलको प्राकृतिक, धार्मिक महत्वको अन्नपूर्ण देवीको मन्दिर । मन्दिरलाई ऐतिहासिक वरवृक्षले ढाकेको छ । चौतारीमा ‘बयली’ खेल्ने चिसो बतास । चराचुरुङ्गीको मधुर आवाजले यहाँसम्म पुग्नेहरुलाई मोहित बनाउँछ । सिउँडीबार–खत्रीठाँटी सडकखण्डको आडैमा पर्छ, यस मन्दिर । प्राकृतिक, धार्मिक एवं ऐतिहासिक महत्वको अन्नपूर्ण देवीलाई परापूर्वकालदेखी नै स्थानीयहरुले श्रद्धाका साथै अन्नकी देवीको रुपमा पुज्दै आएका जानकारहरु बताउँछन् ।
    वर्षको दुई पटक अनिवार्य रुपमा पूजा गर्ने परम्परा
    अन्नपूर्ण स्थान संरक्षण समितिका अध्यक्ष देवेन्द्र पौडेलका अनुसार विशेषगरी : मन्दिरमा धानको बीउ राख्नुभन्दा अगाडि जेठ महिना र धान गोड्नुभन्दा अगाडि भदौ महिनामा गरि वर्षको दुई पटक अन्नपूर्ण देविको अनिवार्य रुपमा पूजा गर्ने परम्परा छ ।
    ‘यसरी अन्नपूर्ण स्थान मन्दिरको पूजाआजा गरेमा खेतीपाती सप्रने, बालीमा रोेग किरा नलाग्ने जनविश्वास छ,’ उहाँले भन्नुभयो ।
    यसका साथै मन्दिरमा रुद्री पूजा, शिवरात्री, ऋषि पञ्चमी पूजा आराधना गर्ने प्रचलन छ । अहिले अन्नपूर्ण मन्दिरसंगै रहेको झण्डै तीन सय वर्ष पुराना मानिएको ऐतिहासिक वरवृक्षलाई समेटेर फराकिलो चौतारी समेत निर्माण गरिएको छ । चौतारी निर्माण भएसंगै स्थानीय वृद्धवृद्धा, बटुवा, खेताला र स्थानीयहरुलाई बस्न, समय व्यतीत गर्न सहज भएको अन्नपूर्ण स्थान संरक्षण समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
    अन्नपूर्ण स्थान मन्दिरको नाउँमा झण्डै एक रोपनी जग्गा रहेको छ । अन्नपूर्ण मन्दिर परिसरमा हाल कैलाश क्षेत्र, यज्ञ मन्डप, अन्नपूर्ण चौतारी, तुलसीको मठ, समिक्षालय, शौचालय र पानीको धारा निर्माण गरिएको छ ।
    मन्दिर परिसरमा रहेको समिक्षालयमा समितिका नियमित गतिविधिहरुका साथ–साथै अन्य सामुदायिक संघसंस्थाहरुको बैठक, स्वास्थ्य शिविर, प्रशिक्षण, धार्मिक अनुष्ठानहरु संचालन हुँदै आएका छन् ।
    धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना
    यस क्षेत्रको संरक्षण र संवद्र्धनमा विभिन्न प्रयास भइरहेको छ । आवश्यक भौतिक संरचनाको विकास, विस्तारका साथै यस क्षेत्रको धार्मिक महत्वलाई बुझाउन सकेमा, यस क्षेत्रको प्रचार–प्रसार गर्न सकेमा धार्मिक पर्यटकीय गन्तव्य समेत बनाउन सकिने सम्भावना रहेको समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
    उहाँका अनुसार आवश्यक रकम अभावको कारणले जग्गादाता जमुनादेवी पौडेलबाट प्राप्त भएको जग्गा रजिष्ट्रेसन गरेर समितिको नाममा ल्याउन, पक्की पहुँच बाटो बनाउन, पर्खाल लगाउन, कार्यालय कोठा बनाउन, समिक्षालयका अधुरा काम पूरा गर्न, चौतारीको वरवृक्षको उमेर पत्ता लगाउन बाँकी नै रहेको समितिका अध्यक्ष देवेन्द्र पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस