२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

सिर्जनामा ‘माटोको स्वाद’ पस्कने सर्जक प्रकाश सपूत !

  • २०८० श्रावण २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ–समाज र देशका समसामयिक विषयवस्तुलाई टपक्कै टिपेर शब्द–संगीतमा गाँस्न माहिर छन्, सर्जक प्रकाश सपूत । आफ्नो सिर्जनामा ‘माटोको स्वाद’ पस्कनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । गाउँघरमा चलनचल्तीमा बोलिने शब्द, लवज, लय र भावलाई आफ्ना सिर्जनामा मिसाउँछन्, उनी । सिर्जनामा माटोकै स्वाद र भाव मिसिएकाले पनि होला सायद ।
    उनले लेखेका, संगीत भरेका, गाएका वा उनको सिर्जनामा अरुले नै आवाज भरेका गीत–संगीत नेपाली लोक गीत–संगीत, सँस्कृति मन पराउनेहरुका दिलमै अटाउँछन् । उनको कतिपय सिर्जनामा रुन्छन् । हाँस्छन् अनि रमाउँछन् दर्शक÷श्रोता ।
    नेपालीको सम्पत्ति : मौलिक लोक गीत–संगीत
    लोक गीत संगीत नेपालीहरुको सम्पत्ति रहेको उनी बताउँछन् । ‘गीत संगीत मानिसको जीवनको अभिन्न अंग हो । यो हामीसंग निकट छ । हाम्रो जीवनसंग जोडिएको छ,’ उनी भन्छन् ।
    सिर्जनाहरुमा नेपाली मौलिकता, मनोरन्जसंगै सामाजिक सन्देश पनि समेटिनुपर्ने उनी बताउँछन् ।
    ‘लोक गीत–संगीतको इतिहास हेर्ने हो भने पनि सुरुदेखी नै यसमा सामाजिक सन्देश समेटिएको पाइन्छ । त्यसैले पनि मैले सामाजिक मुद्धा, परिवेशलाई आफ्ना सिर्जनामा समेट्ने प्रयास गर्दै आएको छु,’ उनी भन्छन् ।
    ‘गलबन्दी’, ‘बोलमाया’, ‘बदला बरिलै,’ ‘मेरो पनि हैन र ? यो देश’, ‘चरर बरर’, ‘पिर’ ‘सकम्बरी’, ‘दमाइ महाराज’ लगायतका थुप्रै गीतमा उनले सामाजिक मुद्धा र परिवेशलाई समावेश गरेका छन् ।
    प्रेरणा : गाउँघरको सांगीतिक माहोल
    गाउँघरको परिवेशले नै आफु यस क्षेत्रमा आउन पे्ररित भएको उनी बताउँछन । ‘जहाँ म जन्मे, हुर्केँ त्यहाँ सांगितिक माहोल थियो । परिवेश थियो,’ बाग्लुङे ठिटो सपूतले भने, ‘यस क्षेत्रमा आउनुमा त्यही परिवेशले प्रे्ररित गर्यो ।’
    गीतका शब्द कोर्न, संगीत भर्न, शब्द–संगीतमा प्राण भर्न (आवाज दिन), जीवन्त अभिनय गर्न र अरुलाई पनि नचाउन, अभिनय गराउन अर्थात एउटै क्षेत्रका विविध विधामा भूमिका निर्वाह गर्न सक्ने बहुमुखी प्रतिभाका पनि धनी छन्, उनी ।
    त्यसो त नेपाली लोक–गीत संगीतमा केही न केही नयाँ प्रयोग गर्न रुचाउने सर्जक पनि हुन्, उनी । उनका नविनतम् प्रयोगलाई रुचाउँदै पनि आएका छन्, गीत–संगीत प्रेमीले ।
    गीत संगीत क्षेत्रमा लागिरहेका गायक सपूतको चर्चा भने पहिलोे ‘दोेहोरी ब्याटल’बाट नै भएको हो ।
    पहिलो दोहोरी ब्याटलबाट नै आफुलाई धेरैले ‘नोटिस’ गरेको अनुभूति उनी गर्छन् ।
    ‘बोेलमाया’, ‘गलबन्दी’ पछि त उनले पछाडि फर्केर हेर्नु नै परेन । उनको सांगीतिक यात्रा झनै अघि बढिरह्यो ।
    कोरोना प्रभाव अघिको समयमा देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा ‘डिमाण्ड’मा पर्ने गायक हुन्, उनी । सपूतका प्रस्तुती सुन्न, हेर्न उलेख्य संख्यामा दर्शक–श्रोता झुम्मिन्थे उनी उपस्थिति हुने, मेला, उत्सव महोत्सवमा । लमजुङमा हुने मेला, उत्सव, महोत्सवमा पनि उनको उपस्थिती प्राय : कैल्यै टुट्थेन ।
    साधनासंगै सिंगो संगीत क्षेत्र सफलताको श्रेय
    ‘गलबन्दी’, ‘बोलमाया’, ‘दोहोरी ब्याटल’, ‘बदला बरिलै’, ‘यो देश मेरो पनि हैन र !’, ‘फुटेका चुरा’, ‘कुरा बुझ्न पर्च’ लगायतका थुप्रै उनका सिर्जना सर्वाधिक चर्चामा रहे, सांगीतिक क्षेत्रमा ।
    गीत–संगीत प्रतिको समर्पण, माया, स्नेह र निरन्तरको साधना र संघर्षले आज उनी चर्चाको शिखरमा छन् । उनका प्राय ः हर सिर्जना नागरिकका हृदयमा अटाएका छन् । मनमनमा बस्न, गुञ्जन सफल छन् ।
    ‘आफ्नो साधना, संघर्ष मेहनत त छदैँछ,’ उनी भन्छन्, ‘आज आफु यस क्षेत्रमा स्थापित हुनुमा सबैको साथ, सहयोग, हौसला प्रेरणा छ । यसको श्रेय सिंगो गीत संगीत क्षेत्रलाई जान्छ ।’

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस