
लमजुङमा पनि नेपाली कांग्रेसको ‘विशेष आन्तरिक अभियान सञ्चालन’ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको निर्णयअनुसार देशव्यापी रुपमा भइरहेको कार्यक्रम लमजुङमा पनि सञ्चालन भएको हो ।
नेपाली काँग्रेस लमजुङले ‘विशेष आन्तरिक अभियान’ अन्तर्गत पार्टी सुदृढिकरण गर्नको लागि साउन २६ गते देखि जिल्लामा पालिकास्तरीय कार्यक्रम संचालन गरिने नेपाली काँग्रेस, जिल्ला कार्य समिति लमजुङका सचिव कृष्णबहादुर अधिकारीले समुन्नती अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अभियान अन्तर्गत साउन २६ गते बेसीशहर नगरभेला, साउन २७ गते मध्यनेपाल नगरभेला, साउन २८ गते राइनास नगर भेला र साउन २९ गते सुन्दरबजार नगर भेला हुन गइरहेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिले गरेका निर्णयहरुको बारेमा जानकारी गराउँदै गाउँ–गाउँमा नेपाली काँग्रेसलाई बलियो बनाउनको लागि केन्द्रले आफूलाई लमजुङमा खटाएको कांग्रेस नेता सोभियत बहादुर अधिकारीले बताउनुभयो ।
नेपाली काँग्रेसको ‘विशेष आन्तरिक अभियान’को लागि आफू लमजुङमा रहेर पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउन लाग्ने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले नेपाली काँग्रेसलाई थप बलियो बनाउनका लागि सबै नेता तथा कार्यकर्ताहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
‘सबै नेता, कार्यकर्ता एकजुट भएर जनताको मन जित्ने गरी काम गर्नुपर्छ । जनतामाझ पुग्नुपर्छ । जनताकोे मन जित्न गरी काम गर्न सकेमा पार्टी बलियो हुन्छ । यस अभियानमा सबै जुट्नुपर्छ,’ डाक्टर गुरुङले भन्नुभयो ।
पार्टी केन्द्रको निर्णय अनुसार पार्टीलाई थप बलियो बनाउन वडातह देखि नै कार्यक्रमहरु गरिने र भातृ र सुभेच्छुक संस्थाहरुलाई समेत सँगै लिएर अगाडि बढ्न लमजुङ काँग्रेस सदैव प्रतिबद्ध रहेको डाक्टर गुरुङले बताउनुभयो ।
यस अभियान सञ्चालनका लागि नेपाली काँग्रेस लमजुङले बृहत छलफल समेत गरेको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर गुरुङको अध्यक्षतामा भएको बृहत छलफलमा जिल्ला कार्य समितिका पदाधिकारी, पूर्व सभापति, आमन्त्रित सदस्य, सुभेच्छुक तथा भातृ संस्थाका प्रमुख, पालिका प्रमुख एवं पालिकाका सभापतिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस