२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लमजुङको माटोले जन्माएको सर्वप्रिय गायक राजु परियार !

  • २०८० श्रावण २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • लमजुङ–मौलिक लोक गीत–संगीत क्षेत्रका चर्चित गायक हुनुहुन्छ, राजु परियार । लमजुङको चिसापानीमा जन्मनुभएका परियारको सानैदेखी लोक–गीत संगीत क्षेत्रमा रुचि थियो ।
    लमजुङकै गाउँघर, वनपाखामा खेल्दै हुर्कनुभएका गायक परियारले गाउँघरमा हुने पूजा–आजाका साथै जिल्लामा हुने विभिन्न दोहोरी प्रतियोगितामा सहभागी हुँदै विभिन्न खुड्किला पार गर्दै निरन्तरको साधना र संघर्षले आज उहाँ यो स्थानसम्म आइपुग्नुभएको हो ।
    संगैका कयौँ साथी गीत–संगीत क्षेत्रबाट पलायन भइसकेका छन् । तर लोक गायक राजु परियार यस क्षेत्रको श्रीवृद्धिका लागि अझै अहोरात्र यसै क्षेत्रमा होमिरहनुभएको छ ।
    हजारौँ गीतमा आफ्नो सुमधुर ‘श्वर’ भर्नुभएका गायक परियार जन–जनको हृदय छुने गीत गाउन रुचाउनुहुन्छ । मेलापात, उकाली–ओराली, भञ्जयाङ, चौतारी, माया, प्रेम, मिलन–विछोडका भावका साथै जातिय विभेद विरुद्धका थुप्रै मौलिक पाराका गीतमा पनि उहाँले आफ्नो ‘जादुमयी’ ‘श्वर’ भर्नुभएको छ ।
    गीतका शब्दलाई मनन गरी हृदयले गाउने गायक परियारका थुप्रै गीत अझै जनजिब्रोमा झुण्डिन सफल छन् । लोक गीत–संगीत मन पराउने सबै पुस्ताका दर्शक–श्रोतामाझ उहाँ प्रिय हुनुहुन्छ ।
    ‘राजु परियारको लोक गीत–संगीत क्षेत्रप्रतिको लगाव र मिठो गायकीले यस क्षेत्रमा उहाँलाई सफल हुन सहज भयो भन्ने लाग्छ,’ ठाडोभाका तथा लोककला प्रतिष्ठान, नेपालका अध्यक्ष नवराज पहाडीले भन्नुभयो, ‘निरन्तरको साधन र संघर्षले नै यहाँ यो अवस्थासम्म आइपुग्नुभएको हो ।’
    मौलिक कला, साहित्य, गीत–संगीतको उर्वरभूमि मानिन्छ, लमजुङ । यहाँको माटोले राजुसंगै राष्ट्रिय रुपमै ख्यातिप्राप्त थुप्रै सर्जक–श्रष्टा जन्माएको छ । उनीहरुले आफ्ना सिर्जनामा लमजुङको माटोलाई समेटे । राजुले पनि आफ्ना कयौँ गीतमा लमजुङको पहिचान र मायालाई समेट्नुभएको छ ।
    राजु समुधुर आवाजका धनी त हुनुहुन्छ नै, उस्तै सरल पनि हुनुहुन्छ । हँसिला, रसिला र मिजासिला स्वभावका राजु अनुजलाई माया, साथ–सहयोगका साथै अग्रजलाई सदा सम्मान र श्रद्धा गर्नुहुन्छ ।
    ‘अग्रजहरुले पानको पात, रेलिमाइ, राइजुमा, हाक्पारे नगाइदिएको भए हामीहरु लोकलयका क्षेत्रमा कसरी आउन सकिन्थ्यो र !,’ विभिन्न संचारमाध्यमसंगको अन्तर्वार्ताका क्रममा उहाँले भन्दै आउनुभएको छ, ‘त्यस कारण मलाई लाग्छ, यो अग्रजहरुको देन हो । उहाँहरुले हिजो लगानी गरेको चीजको आज हामीले ब्याज खाइरहेका छौँ ।’
    लोक गीत–संगीत क्षेत्रमा राजु परियार सुरुवातका दिनदेखी हालसम्म पनि उत्तिक्कै क्रियाशिल हुनुहुन्छ ।
    उहाँको सिको गर्दै मौलिक लोक गीत–संगीत क्षेत्रमा अघि बढ्न चाहनेको जमात पनि उत्तिक्कै छ । क्षमता र प्रतिभा भएका नव श्रष्टालाई उहाँको सुझाव छ, ‘मौलिक लोक गीत–संगीत गाउँ समाजमा छ । राम्रो सिर्जना गर्न सकेमा यस क्षेत्रलाई बचाइराख्न सकिन्छ ।’
    ‘अहिले प्रविधिको पनि विकास भएकाले यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई केही सहज हुनसक्छ,’ उहाँ भन्नुहुन्छ ।
    प्रतिभा भएकाहरुलाई यस क्षेत्रमा अघि बढ्नका लागि हर–तरहले राजु परियाले सघाउँदै आउनुभएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारी बताउनुहुन्छ ।
    ‘राजु दाईको सिको गर्दै लोक गीत–संगीत क्षेत्रमा पाइला चाल्नेहरु धेरै छन्,’ उहाँ भन्नुहुन्छ, ‘उहाँले नव प्रतिभालाई माया, साथ–सहयोग गर्नुहुन्छ । अग्रजलाई सदा श्रद्धा गर्नुहुन्छ ।’

    लेखकको बारेमा

  • एक दशक बढी समयदेखी रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा निरन्तर क्रियाशिल श्यामशितल समुन्नति अनलाइनका लागि प्रधान सम्पादक हुनुहुन्छ ।

    लेखकबाट थप
  • प्रतिक्रिया दिनुहोस